२९ औं दीक्षान्त समारोहः
काभ्रे । देशमा रोजगारीको अवसर नभएको र उच्च शिक्षा अध्ययनको लागि भन्दै अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान, भारतलगायतका देशमा जाने विद्यार्थीको संख्या उच्च छ । पछिल्ला केही वर्षयता नेपालबाट कक्षा १२ उत्तीर्ण गरेपछि पढ्नकै लागि विदेश जानेहरु धेरै छन् । तर नेपालमा पनि विदेशी विद्यार्थी अध्ययनका लागि आउँछन् भन्दा विश्वास नलाग्न सक्छ ।
काभ्रेको धुलिखेलमा अवस्थित काठमाडौं विश्वविद्यालयमा ५७ देशका विद्यार्थीले अध्ययन गरेको तथ्यांक सार्वजनिक भएको छ । यसले नेपाल पनि विदेशी विद्यार्थीको अध्ययन गन्तव्य बनेको उदाहरण दिन अब कुनै गाह्रो छैन । तथ्यांकअनुसार यस विश्वविद्यालयमा हालसम्म ५७ देशका ५ हजार ४६७ जना विद्यार्थीले अध्ययन गरिसकेका छन् । वि.सं. २०४८ सालमा काठमाडौं विश्वविद्यालयको स्थापना भएदेखि हालसम्म जम्मा ४५ हजार ४३७ जना विद्यार्थी उत्तीर्ण भइसकेको तथ्यांक छ । जसमा ५ हजार ४६७ जना विदेशी विद्यार्थी रहेको काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले जानकारी दिए । उनका अनुसार विश्वविद्यालयको २९ औं दीक्षन्त समारोह (दोस्रो चरण) मा भदौ १४ गते १९ देशका २४२ विदेशी विद्यार्थी दीक्षित भएका छन् । यो यस चरणमा कूल दीक्षित हुने विद्यार्थी २ हजार ३१४ जनाको १० प्रतिशत हुन आउँछ ।
विश्वविद्यालयले दिएको तथ्यांकअनुसार विदेशी विद्यार्थीमध्ये सबैभन्दा धेरै भारतका छन् । भारतबाट यहाँ पढ्नेको संख्या ४ हजार ६४३ रहेको मध्ये १९८ हाल अध्ययन गरिरहेका छन् । यस्तै दोस्रोमा श्रीलंकाबाट ३८७ जना, अमेरिकाबाट ७६, माल्दिभ्सबाट ६९ जना, जर्मनीबाट ३२ जना, क्यानडाबाट २१ र बंगलादेशबाट २० जना रहेका छन् । वेलायत र जाम्बियाबाट १८÷१८ जना, भुटानबाट १५, दक्षिण अफ्रिकाबाट १४, पाकिस्तानबाट १३, चीनबाट ११, अष्ट्रेलिया, नर्वे र रुसबाट ९÷९ जना रहेका छन् । यसैगरि अष्ट्रियाबाट ८, स्वीडेनबाट ७ तथा स्विट्जरल्याण्ड, नेदरल्याण्ड, तिब्बत र ब्राजिलबाट ५÷५ जना, स्पेन, इजरायल, भियतनाम र अर्जेन्टिनाबाट ४÷४, केन्या, बेल्जियम, फ्रान्स, अफगानिस्तान, दक्षिण कोरिया र डेनमार्कबाट ३÷३ जना रहेका छन् ।
त्यस्तै इन्डोनेशिया, जापान, इरान, ग्रिक, चेक रिपब्लिक, युक्रेन, बेनिन, तान्जिनिया र मेक्सिकोबाट २÷२ जना तथा इथियोपिया, लेबनान, म्यानमार, पोल्याण्ड, फिजी, लिबिया, मरिसियस, आयरल्याण्ड, इटाली, पोर्चुगल, ताइवान, काजकिस्तान, सिंगापूर, फिनल्याण्ड, प्यालेस्टाइन र सुडानबाट १÷१ जना विद्यार्थीले काठमाडौं विश्वविद्यालयबाट अध्ययन गरिसकेको तथ्यांक छ ।
यसरी हेर्दा नेपाल पनि विदेशी विद्यार्थीका लागि उपयुक्त गन्तव्य भएको देखिए पनि यो पर्याप्त भने होइन । विदेशी विद्यार्थीका लागि नेपालमा पैसा ल्याउन निकै नै समस्या रहेको पाइएको छ । यसका लागि सम्बन्धित देशका राजदूतावास वा सरकारको अध्यागमन विभागले सहजिकरण गरिदिए अझै बढी विद्यार्थी नेपालमा आउन सक्ने विश्वविद्यालयले जनाएको छ ।
२९ औं दीक्षान्त समारोह (दोस्रो चरण) सम्पन्न
काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोह (दोस्रो चरण) भाद्र १४ गते शुक्रबार विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा सम्पन्न भएको छ ।
प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षता, वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङको प्रमुख आतिथ्य र माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । समारोहमा उपस्थित अतिथिलाई विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. भोला थापाले स्वागत गरेका थिए ।
श्रावण ३० गते बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भएको विश्वविद्यालय सभाको ९७ औं बैठकले दीक्षित हुने विद्यार्थीहरूको ग्रेस लिष्ट पारित गरेको थियो । यस बमोजिम सो समारोहमा काठमाडौँ विश्वविद्यालय अन्तर्गत स्कुल अफ आट्र्स, एजुकेसन, इन्जिनियरिङ, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका पीएचडी, डीएम र एमसीएच तहका ११ जना, एमफिल तहका ३२ जना, स्नातकोत्तर तहका ४५६ जना, स्नातक तहका १ हजार ८ सय १५ जनासहित जम्मा २ हजार ३ सय १४ जना विद्यार्थी दीक्षित भएका थिए । तीमध्ये आट्र्सका ७० जना, एजुकेसनका ७१ जना, इन्जिनियरिङका ३६४ जना, म्यानेजमेन्टका ९७ जना, मेडिकल साइन्सेजका १ हजार ५६३ जना र साइन्सका १४९ जना रहनेछन् ।
दीक्षित भएका विद्यार्थीहरूमध्ये पुरुषको प्रतिशत ५१.२५ (१ हजार १ सय ८६ जना) र महिलाको प्रतिशत ४८.७५ (१ हजार १ सय २८ जना) रहेकाछन् । दीक्षित हुनेमध्ये विदेशी विद्यार्थीहरू १० प्रतिशत रहेका छन् । तीमध्ये अमेरिका, मेक्सिको, डेनमार्क, चीन, भुटान, इजरायल, जर्मनी, भारत, माल्दिभ्स, श्रीलङ्का, काजकिस्तान, सिङ्गापुर, अर्जेन्टिना, भियतनाम, ब्राजिल, फिनल्याण्ड, स्वीडेन, प्यालेस्टाइन र सुडान गरी १९ देशका २४२ जना विदेशी विद्यार्थी रहेको विश्वविद्यालयले जानकारी दिएको छ ।
उक्त समारोहमा स्नातकोत्तर तहमा स्कुल अफ आर्टसमा ४ सिजिपिए ल्याउने मिजला चित्रकारलाई चान्सलर स्वर्णपदक, स्कुल अफ साईन्सबाट स्नातक तहमा ४ सिजिपिए ल्याउने मुकेश तिवारीलाई भाइस चान्सलर स्वर्णपदक प्रदान गरिएको थियो ।
त्यस्तै भाइस चान्सलर स्वर्णपदक स्नातक तहमा मनिपाल कलेज अफ मेडिकल, पोखराका स्वीकार दाहाल, न्हुछेरत्न तुलाधर स्वर्णपदक विराट मेडिकल कलेज विराटनगरका रस्मिता पौडेल, रमेशप्रसाद सिंह स्वर्णपदक स्कुल अफ मेकिडल साईन्सेजका अर्जुन दासलाई र स्कुल अफ एजुकेशनबाट महेशनाथ पराजुली स्वर्णपदक रनिषा पौडेललाई प्रदान गरिएको थियो ।
एसइईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउनुपर्छः प्रधानमन्त्री
काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले एसइई परीक्षामा पचास प्रतिशतको हाराहारीमा मात्रै उत्तीर्ण हुने अवस्था विद्यार्थीमाथिको अन्याय भएको बताएका छन् । उनले कम्तीमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी देशभर अनलाइन कक्षा सञ्चालन गर्न लागिएको बताए ।
काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले अङ्ग्रेजी, गणित, विज्ञानलगायत मुख्य विषयमा केन्द्र सरकारका तर्फबाट अनलाइनका माध्यमबाट विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिए । सरकार देशको समृद्धि र समग्र शिक्षाको सुदृढीकरणका लागि आगामी दिनमा थप स्पष्ट र दृढताका साथ अघि बढ्ने पनि उनले स्पष्ट पारे ।
ग्रीन हाइड्रोजन उत्पादन र रिफ्युल सेन्टर उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ विश्वविद्यालयमा रहेको ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ सेन्टरको उद्घाटन गरेका छन् । विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहका अवसरमा प्रधानमन्त्रीले हाइड्रोजनबाट सञ्चालन हुने बा१झ ११११ नम्बरको कारको समेत उद्घाटन गरे । उनी सोही कार चढेर दीक्षान्त समारोहस्थल गएका थिए ।
सो अवसरमा उनले विश्वविद्यालयले सञ्चालन गरेको ग्रीन हाइड्रोजन उत्पादन र रिफ्यूलिङ स्टेसन निर्माण अनुकरणीय कार्य भएको बताए । प्रधानमन्त्री ओलीले आफूले यसअघि प्रधानमन्त्री भएका बेला ग्रीन हाइड्रोजन तथा हावाबाट बिजुली उत्पादनबारे छलफल एवं अध्ययनको सुरुआत गरेको स्मरण गरे । विश्वविद्यालयको नेपाल हाइड्रोजन इनिसिएटिभ्सका प्रमुख एवं सहप्राध्यापक विराजसिंह थापाले बिजुली र पानीलाई प्रशोधन गरी हाइड्रोजनमा परिणत गरिएको जानकारी दिए । विगत दुई वर्षदेखि ग्रीन हाइड्रोजन फ्युल उत्पादन तथा प्रयोगसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्दै आएको विश्वविद्यालयले पहिलो पटक २०७९ साल चैत १९ गते ग्रीन हाइड्रोजन उत्पादन गरेको थियो ।