विश्वविद्यालयले दक्ष प्राविधिक उत्पादन गरेकोमा प्रधानमन्त्रीद्वारा खुसी व्यक्त
प्रदीप के. सी.
काभ्रेको धुलिखेलमा अवस्थित काठमाडौं विश्वविद्यालयको २७ औँ दीक्षान्त समारोह (दोस्रो चरण) मा विभिन्न संकायका गरी १ हजार ७ सय १२ जना विद्यार्थी दीक्षित भएका छन् ।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षता र आइ.आइ.टि हैदराबादका निर्देशक बि.एस. मुर्तीको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको हो ।
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा कुलपति देउवाले खनिज पदार्थको पहिचान गरी विशेषज्ञता हासिल गर्दै देश विकासमा टेवा पुर्याएकोमा धन्यवाद व्यक्त गर्नुभयो । खनिज पदार्थको पहिचान गरी ग्रीन हाइड्रोजन उत्पादन व्यवस्थापन गर्नु आजको आवश्यता हो भन्दै देउवाले त्यसमा विश्वविद्यालयले दक्ष प्राविधिकको उत्पादन गरेकोमा खुसी व्यक्त गर्नुभयो । स्वदेशभित्रै युग अनुसारको शिक्षा प्रदान गर्ने विश्वविद्यालयको लक्ष्य रहेको उहाँले बताउनुभयो । उहाँले विश्वविद्यालयले विभिन्न देशका विश्वविद्यालयहरूसँग सहकार्य गर्दै अगाडि बढेको पनि बताउनुभयो ।
केन्द्रीय परिसर धुलिखेलमा भएको समारोहमा आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, म्यानेजमेन्ट, साइन्स र मेडिकल साइन्सेज विधाका ११ जना पीएचडी तथा एमफिल ४३ जनासहित आर्ट्सका ३२, एजुकेसनका १००, इन्जिनियरिङका ३ सय ५२, म्यानेजमेन्टका १६, मेडिकल साइन्सेजका ९ सय ९६ र साइन्सका २ सय १९ जना दीक्षित भएका हुन् । भारत, श्रीलङ्का, माल्दिभ्स, अमेरिका, अस्ट्रेलिया, चीन, बङ्गलादेश, नेदरल्यान्ड र जर्मनी गरी ९ देशका १ सय ५७ विदेशी विद्यार्थी पनि दीक्षित भएका छन् ।
विश्वविद्यालयको इतिहासमा पहिलो पटक बीएससी इन कम्प्युटेसनल म्याथम्याटिक्समा १५ जना, एमएस्सी फिजिक्समा ९ जना, एमएस्सी पब्लिक हेल्थ (इपिडियोमोलोजी) मा ५ र एमएस्सी पब्लिक हेल्थ (ग्लोबल हेल्थ) मा ५ जनालाई उपाधि प्रदान गरिएको विश्वविद्यालयले जनाएको छ । २०७८ मंसिर २९ गते भएको पहिलो चरणको दीक्षान्तमा स्कुल अफ आर्टस्, एजुकेसन, इन्जिनियरिङ, ल, व्यवस्थापन, मेडिकल साइन्सेज र साइन्स विद्याका १२ जना पीएचडी र ३० जना एमफिल सहित स्नातक र स्नातकोत्तर तहका १ हजार ४ सय ४९ विद्यार्थी दीक्षित भएका थिए ।
कार्यक्रममा स्नात्तकोत्तर तहमा सबैभन्दा बढी ४.०० सीजीपीए प्राप्त गर्ने स्कूल अफ इन्जिनियरिङका दिपेन्द्र पन्त र सुदिप श्रेष्ठलाई चान्सलर स्वर्णपदक र स्नातक तहमा सबैभन्दा बढी सीजीपीए ३.९९ ल्याउने प्राप्त गर्ने स्कुल अफ आट्र्सबाट अभिप्षा रायमाझीलाई भाइस चान्सलर स्वर्ण पदक प्रदान गरिएको छ । स्नातक तह एमबीबीएसमा सबैभन्दा बढी अंक प्राप्त गर्ने मणिपाल कलेज अफ मेडिकल साइन्सेज पोखराका जायज अधिकारीलाई भाइस चान्सलर स्वर्ण पदक प्रदान गरियो ।
यसैगरी एमबीए तहमा सबैभन्दा बढी सीजीपीए ल्याउने विद्यार्थीलाई प्रदान गरिने जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक स्कुल अफ म्यानेजमेन्टबाट एमबीएमा सीजीपीए ३.९२ ल्याउने आरती काफ्लेलाई र एमबीए तहका सर्वोत्कृष्ट विद्यार्थीलाई प्रदान गरिने रणबहादुर शाह स्वर्णपदक स्कुल अफ म्यानेजमेन्टकै सीजीपीए ३.८ ल्याउने सर्वोत्कृष्ट विद्यार्थी श्रीजन भण्डारीलाई प्रदान गरिएको हो । छब्बीसौ दीक्षान्त समारोहमा वितरण गर्न बाँकी रणबहादुर शाह स्वर्णपदक एमबीए तहमा सर्वोत्कृष्ट विध्यार्थी सीजीपीए ३.९७ ल्याउने स्कुल अफ म्यानेजमेन्टका प्रदिपकुमार काफ्लेलाई प्रदान गरियो ।
विश्वविद्यालयमा हालसम्म ३८ हजार ३ सय ३६ उत्तीर्ण तथा दीक्षित भएको विश्वविद्यालयले थापाले जनाएको छ । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेलसहित विभिन्न शिक्षासेवीहरूको उपस्थिती रहेको थियो ।