रामचन्द्र हुमागाईं
तीन बर्ष अगाडि खुरकोट पुग्दा खोलैखाला आउनुपरेको सम्झना आयो । त्यहाँ अत्यन्तै सुन्दर पुल निर्माण गरिएको रहेछ । करिब दश मिनेट त्यहाँको दृश्य कैद गरैँ । ढुँगै बलौटे माटो भए पनि खेतमा धान बाला बर्सिन तयार । काठमाडौ विश्व विद्यालयका उपकुलपति डा. सुरेश राज शर्मा भन्नुहून्थ्यो, मेरो जन्मस्थान खुरकोट हो । उहाँको भनाइृ सम्झिँदै लागेँ उकालो । यतिबेला घडीले पाँच बजाईसकेको थियो । खुरकोटबाट सिन्धुलीमाडी । त्यही बास बस्ने योजना थियो । सिन्धुलीमाडी पुग्दा पौने ६ बज्यो ।
त्यो ठाउँलाई मैले पहिले नै मिनि भेडेटार राखेको थिएँ । त्यसैले पनि काठमाडौबाट निस्कने वित्तिकै त्यही बास बस्ने योजना बनाएको थिएँ । चिसोपानी, सितल मौसम, सवारी रोकेर यसो दायाँ पट्टी हेरेको त नयाँ भवनको अनुहार मै ‘लाँघाली रेष्टुराँ तथा लज’ लेखिएको देखियो । पार्किङ्ग पनि भित्रै । गाडीबाट उत्रिएर सिधैँ रिसेप्शनमा पसेँ । त्यहाँ रहेकी महिलासँग कोठा छ’ भन्ने वित्तिकै उनले आफ्ना श्रीमान्लाई बोलाइन् । उनी आउने वित्तिकै साँचोको झुत्ता बोकेर अगाडि लागेँ, म पछि पछि । उनको मिजास मलमई असाध्यै मनप¥यो । ‘सर ! यि यि कोठ खालिछन् तपाईंले रोजेर लिनोस्’ । मैले कोठा रोजेँ । तर पनि कोठाको मूल्य तोकेनन् । बरण्डामा निस्किएपछि परिचय र घर सोधे । मैले आफ्नो घरको ठेगना बताएँ । उनी मेरो अनुहार हेर्दै, ‘कहाँनेर’ भन्न पो थाले । नजिकैको स्कूल बताएँ । उनी अझै झस्किए, ‘कुन घर’ पो भन्न थाले । उनी मेरै घर नजिकै काठमाडौमा बस्दा रहेछन् । अघिल्लो दिन मात्रै फर्किएका रहेछन् । त्यसपछि झन् घनिष्ठता बढ्यो । उनको नाम सोेधेँ । तारा बहादुर थापा, उनले आफ्नो नाम बताए ।
हात मुख धोेँए, मोजा धोएँ । समस्या फोनको चार्ज सकियो । बत्ती छैन । सात बजे आउनुपर्ने बत्ती दस बज्यो । त्यतिबेला खाना खाएर सुतिसकेको थिएँ । तै तै ११ बजे निन्द्रा खुल्यो र व्याट्री चार्ज गर्ने मौका मिल्यो ।
साँझै पानी परिसकेको थियो । विहान उठ्दा कुहिरो लागेर कतै देखिएन । पैसा तिरेर हिड्ने तरखर गर्दै रिसेप्सनमा गएँ । ताराले लिएको रकम उल्लेख नगरौँ । सायद उनको र मेरो आत्मियता बढेकाले अत्यन्तै थोरै पैसा लिए । फेरी फेरी आउने बचनबद्धताका साथ बाटो लागेँ । करिब ५ कि.मी. अगाडि बढेर ओरालो शुरु भयो । अझै तल झर्दै गर्दा कुहिरो हट्यो र त्यहाँबाट सिन्धुली माडीसम्मको नागबेले सडक देख्ने वित्तिकै किनार लागेर क्यामेरामा त्यो नागबेले सडकका दृश्यहरु कैद गर्दै झरेँ । निकै तल झरेपछि बाटो हिड्दै गरेका एकजना पण्डित भेटिए । बाटोमा एउटा टाटा मोबाइल र ३ वटा २ पाँग्रे बाहेक केही भेटिएका थिएनन् । उनको नजिकै गएर तल गाउँको नाम सोधेँ, गजुरेल बस्ती सोधेँ, त्यसलाई पनि कैद गरे । सिन्धुलीमाडी पुग्दा ७ः३० भएको थियो । त्यहाँ पत्रिका पसलमा दश मिनेट खर्च गरेँ । पत्रिका पसलमा काम सकेपछि पसलेले यतै खाना खाएर जान आग्रह गरे तर एक कप चिया खाएर बाटो लागेँ । सिन्धुली माडीबाट करिब दश किमी बाटो उही २०४३ साल कै जस्तो रहेछ । त्यसपछि भोगटे पुल देखि राम्रो बाटो आयो ।
केही पर पुगेर किनार लागेर काठमाडौंमा कृष्णहरी हुमागाईंलाई सम्पर्क गरेँ । सर्लाहीमा रहेका हुमागाईं बन्धुहरुलाई भेट्नुथियो । कृष्णहरीले एकछिनपछि नम्वर उपलब्ध गराउने आश्वासन दिँदै, एक्लै हिडेकोमा सुझावमुलक गाली पनि गरे, राम्रै लाग्यो । बर्दिबासको ओरालो पुगेको मात्रैँ थिएँ फोनको घण्टी बज्यो, कृष्णहरीकै फोन रहेछ, उनले आप्mना भतिजा भानु हुमागाईंको नम्वर दिए तर उनी नारायणगढ गएका रहेछन् ।
बर्दिवासमा पुरी–तरकारी र एउटा चिसो खाएँ । त्यहाँ कार्यरत शसस्त्र प्रहरी गणका एस.पी मित्रलाई फोन गरेको त उनी काठमाडौं गएका रहेछन् । उनले व्यारेकमा जानु म कसैलाई भनिदिन्छु भन्दै थिए मनले मानेन । त्यहाँ थोरै औषधी किनेँ, त्यसपछि मेरो यात्रा पश्चिम लम्कियो । लालबन्दीमा रोकिएर तरकारी व्यापारी बनेँ । गोलभेँडाको मूल्य ५ रुपैँया केजी, भ्यान्टा ४ रुपैँया, रामतोरिया ३ रुपैँयाँ लौका २ रुपैँया कति मज्जा काठमाडौमा उल्लेखित तरकारीहरु ८० रुपैँया भन्दा तल पाइँदैन बजार उठ्ने बेला भएकाले बार्गेनिङ्ग ग¥यो भने झन् सस्तो । त्यहाँबाट उम्किएर एक्कै पटक हरिओनमा रोकिएँ । त्यहाँ भानुलाई हुमागार्इं समाजका सामाग्रीहरु खामबन्दी गरेर कार्की स्टेशनरीमा छाडिदिएँ र भानुलाई फर्किएर जाँदा लिन अनुरोध गरेँ ।
त्यहाँबाट नजिकै पर्ने बागमती नदी माथि एक्कैछिन् बसेँ, काठमाडौबाट बगेर जाने फोहोर कतै देखिएन । त्यहाँबाट सिधै चन्द्र निगाहपुरमा ब्रेक मारेँ । दिदीको घर विना सुचना पुग्दा सबैले गाली गरे । बाटोका कामहरु सक्दै जानुपर्ने भएकाले खबर नगरेको बताएपछि मात्रै माफी पाएँ । दिउँसो १ बजेको थियो । स्नान, खाना र थोरै गफगाफ पछि निन्द्रा लागेछ, दिदीले भित्र गएर सुत्न आदेश दिईन् । त्यो आदेश मेरा लागि आँखा नभएकोले आँखा प्राप्त गरेजस्तै भयो । एक्कै पटक ५ बजे मात्रै निन्द्रा खुल्यो । त्यतिबेलासम्म देवनारायण हुमागाईले म त्यहाँ पुगेको चाल पाईसकेका रहेछन् । उनी शिक्षण पेशामा रहेछन्, समय पनि मिल्यो । उनी घरमै आए ।
भोलिपल्ट विहानै ६ ः ३० बजे बन्धुहरुलाई जम्मा गर्ने र मेरो उपस्थिति हुनैपर्ने भन्दै देवनारायण निस्किए । विहान ६ ः ३० मै तोकिएको ठाउँमा पुग्दा सबै जम्मा भैसकेका रहेछन् । मलाई भान्जा प्रल्हादले लिएर गएका थिए । त्यहाँ बन्धुहरुको गुनासो सुन्नुप¥यो । झण्डै डेढ वर्ष अगाडि बनेपाको कार्यक्रमा खल्लो भएको गुनासो थियो । आफ्नो तर्फबाट माफी माग्दै झण्डै २ घण्टा बन्धुहरुसँग विताएँ । आश्विन ६ गते भेला गर्ने निधो उनीबाटै भयो र म फर्किएँ । खाना खाँदा दश बज्यो । सिधै तयार भएर गाडी स्टार्ट गरेँ । मुल सडकमा आएर तेल भरेँ । पथलैया हुँदै हेटौडा आउँदा ११ः३० भयो । त्यहाँ पनि पत्रिका पसलमा १५ मिनेट विताएँ । भिमफेदी, कुलेखानी, दक्षिण कालीको बाटो सानै भए पनि पूरै कालोपत्रे भैसकेको रहेछ तर ठाउँ ठाउँमा भारतीय सहयोग भन्ने बोर्ड देख्दा विस्तारबादको गन्ध आयो । यदि भारतले सहयोग नै गर्नुथियो भने फास्टट्रयाक बनाई दिएको भए कस्तो हुन्थ्यो । जस्तो लाग्यो । दक्षिणकाली आउन १५ कि.मी. लेखिएको ठाउँबाट तल बगिरहेको बागमतीको किनारमा खोलिएको फास्टट्रयाकको पनि फास्ट ट्रयाक हेर्दा त पहाडको घोडेटो बाटो जस्तो पो लाग्यो । आनन्दले काठमाडौ निजगढ पुग्ने सपना अपूरो छाड्दै काठमडौं उत्रिएँ । माइतीघर पुग्दा माइलमिटरमा तीन सय ५७ नम्बर निस्किएको थियो । चन्द्र निगाहपुरमा गौर तर्फको ५ किमी कटाउँदा ३२२ किमी । यसलाई मैले ‘काठमाडौ र तराई जोड्ने चक्रपथ’ नामाकरण गरेँ । कस्तो लाग्यो त ६० वर्षको उमेरमा एक्लै यात्रा ?