कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा जनमानसमा सकारात्मक सन्देश गएको छः देउवा

काभ्रे । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा जनमानसमा सकारात्मक सन्देश गएको बताएका छन् । शनिबार काभ्रेको सदरमुकाम धुलिखेलमा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको पूर्णकदको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले धेरै साना दलहरु मिल्नुभन्दा ठूला दलहरु मिलेर सरकार बनाउनुलाई नागरिकले दिगो हुने विश्वास लिएका बताएका हुन् ।

oplus_2

कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले महामानव बिपी कोइरालाले देखाएको बाटो कांग्रेसका लागि सधैं प्रेरणादायी रहने भन्दै आम कांग्रेसजनले उनका सिद्धान्तलाई कहिल्यै भुल्न नहुने बताए । बिपी कोइरालाले देखेको सपना अनुसार निर्माण भएको बिपी राजमार्गले पूर्वी नेपाललाई काठमाडौंसम्म जोड्ने छोटो मार्गको काम गरेको उनको भनाइ थियो । हामी अहिले काम भएन भएन मात्र भन्छौं तर किन भएन भनेर खोजी गर्दैनौं भन्दै देउवाले नेताहरुलाई गाली मात्र गरेर भन्दा आफ्नो तहबाट काम गरेर मात्र देशको विकास सम्भव हुने बताए । अग्रज नेताहरुले छोडेर गएका अधुरा कामहरु पूरा गर्ने जिम्मेवारी अब पछिल्लो पुस्ताको काँधमा आएको बताउँदै देउवाले अप्ठ्याराहरुलाई पन्छाउँदै अघि बढ्नुपर्नेमा जोड दिए । उनले जनताका कामहरुमा सबैले जिम्मेवारीपूर्णरुपमा कर्तव्य पूरा गरेर जानुपर्ने आवश्यकता औंल्याए । आगामी दिनमा पार्टीलाई कसरी राम्रो गरेर अगाडी लैजान सकिन्छ भन्नेमा सबैले सोच्नु पर्ने र पार्टीलाई पहिलो पार्टी बनाउन लाग्नुपर्ने भन्दै नेता कार्यकर्तालाई यसमा लाग्न निर्देशन पनि दिए ।
कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री एवं बिपी पुत्र शशांक कोइरालाले पार्टीमा युवापुस्तालाई स्थान दिनुपर्ने आवश्यकता औंल्याए । अहिले देशमा जे जे विकास भएका छन् ती सबैमा कांग्रेसको ठूलो योगदान रहेको बताउँदै कोइरालाले युवाहरु विदेश गएर होइन, स्वदेशमै काम गरेर देश विकास गर्नुपर्ने बताए । ‘हामीले कहिले पनि युवाहरुलाई स्थान दिएनौं, सधैं नेतामा मात्र केन्द्रीत भयौं । त्यसैले आज लाखौं युवा अवसरको खोजीमा विदेश गएका हुन् ।’ कोइरालाले भने, ‘बिपीले देखाएको त्यागलाई हामीले भुल्नु हुँदैन । उहाँले देखाएको बाटो बिराउनु हुँदैन ।’ यस्तै कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले कांग्रेस फुटेर नभइ जुटेर अघि बढ्ने हो भने अरु दलले आँखा खोल्न पनि आँट नगर्ने बताए । उनले कांग्रेसभित्र कुनै कुराको कमी नभए पनि किन सफल हुन सकिरहेको छैन भन्दै प्रश्न पनि गरे । अर्का केन्द्रीय सदस्य मधु आचार्यले बिपीले देखाएको विकासको मार्ग, विकृति र विसंगतिविरुद्ध लाग्नु पर्ने सन्देशलगायतले अहिलेको कांग्रेस बनेको बताउँदै आगामी पुस्तामा बिपीवाद हुनुपर्नेमा जोड दिए ।
कांग्रेस काभ्रेका सभापति तिर्थ लामाले कांग्रेस अब सबै सधैं सँगै मिलेर जाने भन्दै बिपी कोइरालाको शालिक निर्माण गर्दाका समस्या र अहिलेको अवस्थामा आइपुग्दासम्मका घटनाक्रमहरुका बारेमा जानकारी दिए । केन्द्रीय सदस्यहरु शिव हुँमागाईं, गणेश लामा, कांग्रेस वागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र वादेलगायतले बिपीका सिद्धान्तलाई आत्मसाथ गर्दै सबै अघि जान सक्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए । कार्यक्रममा कांग्रेसका जिल्ला तहका सयौं नेता कार्यकर्ताका साथै शुभचिन्तक, शुभेच्छुक संस्थाका प्रतिनिधीलगायतको उपस्थिती रहेको थियो । हस्पिटलचोकमा शालिक अनावरणपछि धुलिखेल नगरपालिकाको सभाहलमा औपचारिक कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुनेहरुमा कांग्रेस उपसभापति रमेशप्रसाद हुमागाईं, महासमिति सदस्य दावा लामा, जिल्ला समिति सदस्य सनिता न्यौपाने बजगाईं, महासमिति सदस्य मञ्जु शाह ठकुरी, धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगम, नेवि संघका सभापति अञ्जनराज खतिवडा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने स्वागत मन्तव्य नेपाली कांग्रेस धुलिखेल नगर समिति सभापति विदुर बहादुर बस्नेतले गर्नुभएको थियो । विपीको पूर्ण कदको प्रतिमा निर्माण गर्न मूल समारोह समितिका सभापति जितकृष्ण घिनांजुको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो भने सहसचिव समिर ब्याञ्जूले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । सोही अवसरमा गायककार रामहरि न्यौपानेले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो भने गायककार राधिका हमाल र सुनिल थापाले गीतहरु प्रस्तुत गरी मनोरञ्जन प्रदान गर्नुभएको थियो । सोही समारोहमा विपीको प्रतिमा निर्माण गर्ने चन्दादाताहरुलाई प्रमाण पत्र र प्रशंसा पत्र प्रदान गरिएको थियो ।

बिपी कोइरालाको पूर्णकदको शालिक अनावरण

धुलिखेल । नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बिपी कोइरालाको पूर्णकदको शालिक अनावरण गरिएको छ । धुलिखेलस्थित स्थित हस्पिटलचोकमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोइरालाको शालिक शनिबार अनावरण गरेका हुन् ।


बिपी राजमार्गको प्रस्थानविन्दुका रूपमा रहेको सो स्थानमा नवनिर्मित नेता कोइरालाको शालिक अनावरण गरिएको हो । २०७१ सालमा शिलान्यास गरिएको प्रतिमा ९ वर्षपछि निर्माण सम्पन्न गरी अनावरण गरिएको नेपाली कांग्रेसका काभ्रे जिल्ला सभापति तिर्थ लामाले बताए । १५ लाख रुपैयाँ लागतमा शालिक निर्माण गरिएको प्रतिमा निर्माण मूल समितिका संयोजक जितकृष्ण धिनान्जु श्रेष्ठले जानकारी दिए । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको परिकल्पनामा विसं २०१६ सालमा शुरुवात भएको यो सडक निर्माण तत्कालिन राजा महेन्द्रले प्रधानमन्त्री कोइरालालाई अपदस्थ गरी २०१७ सालमा पञ्चायती व्यवस्था लागू गरेपछि सफल हुन सकेको थिएन ।
यसै सन्दर्भमा बिपीको परिकल्पना र उनकै नाम रहेको राजमार्ग बिपी राजमार्गको शुरुवाती विन्दु धुलिखेलमा कोइरालाको प्रतिमा स्थापना गर्नु वाञ्छनीय ठानेर प्रतिमा निर्माण समिति र नेपाली कांग्रेस धुलिखेल नगर समितिको अग्रसरतामा धुलिखेल नगरपालिका वडा नं ६, जरणडाँडास्थित हस्पिटल चोकमा प्रतिमा स्थापना गरिएको नेपाली कांग्रेस काभ्रेले जनाएको छ ।

content advertise ment

Recommended For You

About the Author: Pradip Pradip

Leave a Reply

Your email address will not be published. Required fields are marked *