कांग्रेस केन्द्रीय महाधिवेशन, सभापतिमा छ जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको भावि सभापतिका लागि छ जनाले उम्मेदवारी दिनुभएको छ । १४ औं महाधिवेशनका लागि छ जनाले सभापतिमा उम्मेदवारी दिएका हुन । प्रधानमन्त्री शेरबहादुर देउवा, शेखर कोइराला, विमलेन्द्र निधी, प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
देउवा र कोइरालाले प्यानलसहित चुनाव लड्दै हुनुहुन्छ । मुख्य प्रतिस्पर्धा उहाँहरुबीच नै हुने आँकलन गरिएको छ । निधीले प्यानलबिना नै सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै, सिंहले एक उपसभापति र एक महामन्त्रीको टिम बनाउनुभएको छ ।
देउवाको प्यानलमा पुराना अनुहारहरु धेरै छन् । उपसभापतिमा उहाँले पूर्णबहादुर खड्का र विजय गच्छदारलाई अघि सार्नुभएको छ । यस्तै महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदिप पौडेल उहाँको प्यानलमा समेटिएका छन् । युवा नेता प्रदीप पौडेल सिटौला समुहको तर्फबाट देउवा प्यानलमा मिसिनुभएको हो ।
कोइरालाको प्यानलमा उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङलाई समावेश गरिएको छ । यस्तै महामन्त्रीमा मिनेन्द्र रिजाल र गगनकुमार थापा हुनुहुन्छ ।
प्रकाशमानले आफ्नो प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्मालाई उभ्याएका छन् । शर्माले देउवाको प्यानलमा स्थान नपाएपछि सिंहको प्यानलमा खडा भएका हुन् । 
विमलेन्द्रले प्यानलबाट उपसभापतिमा दिव्येश्वरी शाह र महामन्त्रीमा राजाराम कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । २५ वर्षसम्म सभापति शेरबहादुर देउवासँग सहकार्य गरेका निधिले १४ औं महाधिवेशनमा आफूलाई सभापतिमा समर्थन गर्न देउवालाई आग्रह गर्नुभएको थियो । तर देउवाले आफैं सभापतिमा उठ्ने बताएपछि निधिले छुट्टै उम्मेदवारी दिनुभएको हो ।
यस्तै सहमहामन्त्री पदमा २० जनाको उम्मेदवारी परेको छ ।  जसमा मानबहादुर विश्वकर्मा, बद्री पाण्डे, फर्मुल्लाह मन्सुर, सुरेन्द्र प्रसाद चौधरी, देवराज चालिसे, रञ्जीत कर्ण, रामकृष्ण यादव, कमला पन्त, तेजुलाल चौधरी, किशोर सिंह राठोर, विकास लामा, जीवन परियार, गंगा सुनार, महेन्द्र यादव, भीष्मराज आङ्दाङम्बे, जीवन बहादुर शाही, चेतराज बजाल, शेख वकिल, उमाकान्त चौधरी, डीना (महालक्ष्मी) उपाध्याय रहेका छन् ।

३५ पदका लागि १०९ को उम्मेदवारी
नेपाली काँग्रेसको खुला तर्फको केन्द्रीय सदस्य पदमा १०९ जनाका उम्मेदवारी परेको छ । खुलातर्फ ३५ जना निर्वाचित हुनेमा १०९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिनुभयो । राष्ट्रियसभा गृहमा शनिबार भएको मनोनयन दर्ताका क्रममा सो संख्यामा उम्मेदवारी दर्ता भएको हो ।
चार जना बीच प्रतिस्प्रर्धा
सभापतिमा छ जनाको उम्मेदवारी परेको भएपनि चार जना बीच प्रतिस्प्रर्धा हुने बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, शेखर कोइराला, विमलेन्द्र निधी र प्रकाशमान सिंह चार शीर्ष नेताहरुबीच टकराव हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा सभापतिमा पुनः दोहोरिन चाहनुभएको छ । तर उहाँलाई कोइराला, निधी र सिंहले चुनौति दिनुभएको छ । संस्थापनबाट देउवा र निधीको उम्मेदवारी परेको छ भने संस्थापन इतरबाट कोइराला र सिंहको उम्मेदवारी दर्ता भएको छ ।

पौडेल, सिटौला र खड्काले दिएनन् उम्मेदवारी

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कुनै पदमा पनि उम्मेदवारी दिएनन् ।
पौडेलले सभापतिमा शेखर कोइरालालाई समर्थन गरेका छन् भने सिटौलाले वर्तमान सभापति शेरबहादुर देउवालाई नै समर्थन गरेका छन् । पौडेलले शनिबार विज्ञप्ति जारी गरी १४ औं महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग हुने घोषणा गर्नुभएको थियो । सिटौलाले पनि आफू पार्टी नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने बताउनुभयो । उहाँले सडकबाटै पार्टीलाई सहयोग गर्ने बताउनुभयो । अर्का नेता डा. नारायण खड्काले पनि यसअघि पदाधिकारीको चर्चामा हुनुहुन्थ्यो । परराष्ट्रमन्त्रीसमेत रहेका खड्काले पनि कुनै पदमा उमेदवारी दिनुभएन । उहाँका स्वकीय सचिवले दिएको जानकारीअनुसार खड्काले केन्द्रीय सदस्यमासमेत उमेदवारी दिनुभएन ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *