कांग्रेसको इतिहास लेख्ने बीपीको सपना किन भएन पूरा ?

नेपाली राजनीतिमा सर्वाधिक उचो कद वनाउन सफल नेता बीपी कोइरालालाई आफू जिवित छँदै कांग्रेसको इतिहास लेखिसक्ने चाहना थियो । राजनीति र साहित्यमा उत्तिकै योगदान दिएर नेपाल र नेपालीलाई गुन लगाएका उनी कांग्रेसको इतिहास लेख्न नपाउँदै परलोक भए । यस्तै धेरै किताब लेख्ने चाहना राख्दाराख्दै बीपीको जीवन सकियो ।
राणा प्रधानमन्त्री चन्द्रशमशेरले पिताजी कृष्णप्रसाद कोइरालालाई देश निकाला गरेपछि बीपीको परिवारले १२ वर्ष भारत प्रवासमा बिताउनु पर्यो । अंग्रेजविरुद्व महात्मा गान्धीले चलाएको स्वतन्त्रता आन्दोलनले गति लिइरहँदा बीपीको राजनीतिक प्रशिक्षण शुरु भयो ।
भारत स्वतन्त्र नभएसम्म नेपालबाट राणा शासन हटाउन सकिँदैन भन्ने बीपीको वुझाई थियो । स्वतन्त्रता आन्दोलनका क्रममा पक्राउ परि उनले तीन वर्ष भारतीय जेलमा बिताए । आफू रिहा भएकै दिन बीपीले यता काठमाडौंमा राणाहरुले बन्दी बनाएका पिताजीको मृत्युको खबर सुन्नु पर्याे । यो घटनाले उनलाई राजनीति गर्न झनै प्रेरित बनायो । अनि २००३ सालमा ३२ वर्षको उमेरमै नेपाली राष्ट्रि«य कांग्रेस स्थापना गरी राणाविरुद्व आन्दोलनको योजना बनाए । राजनीतिकरुपमा विभिन्न उतारचढाव खेपेका बीपीलाई राजाले प्रजातन्त्र अपहरण गरी आठ वर्ष सुन्दरीजल वन्दीगृहमा नपठाएको भए राजनीतिक व्यस्तता कारण सायद उनीबाट यति धेरै कृति लेख्न सम्भव थिएन । राजनीतिमा बीपीका नामले परिचित साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाका अधिकांश कृति उनी सुन्दरीजल बन्दीगृहमा रहँदाकै उपलव्धी हुन् ।
सेप्टेम्बर १८, १९६२ (२०१९ असोज २)
मैले जीवनका ४८ वर्ष पूरा गरें । तर पनि कुनै विशेष उपलव्धी आर्जन गर्न सकेको छैन । मैले कारागारमा यी पुस्तकहरू लेख्नुछ ः
१९५० को आन्दोलन
शाह नेपालको इतिहास, समाजवाद, शैलजा, उपन्यास, सुशीला, विज्ञानमाथि पुस्तक, प्रकाश, कला, श्रीहर्ष, परीकथा, शशाङ्क र बहिनी, साहित्य, कुन्दन, विश्वको इतिहास, आत्मवृत्तान्त । बीपीका प्रकाशित यी कृतिहरु पाठकले सर्वाधिक रुचाएका किताबको सूचीमा छन् । मेरो कथा, आत्मवृत्तान्त, जेल जर्नल, फेरी सुन्दरी जल, मोदी आईन, नरेन्द्र दाई, हिटलर र यहुदी, सुम्निमा, दोषी चम्मा, बाबु आमा र छोरा, श्वेत भैरवी ।
राणाकालमै बीपी क्यान्सर पीडित थिए । बम्वईमा उपचार गराएर फर्किएपछिका दिनमा राजनीतिक सकृयता यति वढ्यो की लेखनलाई समय दिनै पाएनन् । गृहमन्त्री भएसँगै वढेको राजनीतिक सकृयता प्रधानमन्त्री भएर अपदस्त नहँुदासम्म कायमै रह्यो । सुन्दरीजलमा बन्दी हँुदा लेखेका प्रायः कृति प्रकाशित छन् ।
२०२५ सालमा सुन्दरीजलवाट छुटेको केही समयपछि नेपालमा बसेर राजनीति गर्न सम्भव नहुने निष्कर्षका साथ उनी भारत प्रवास गए । आठ वर्ष प्रवासमा रहेर निरंकुश पञ्चायती व्यवस्थाको अन्त्यका लागि सशस्त्र क्रान्ति चलाए । जहाज अपहरण, ओखलढुंगा काण्ड, भारतमा संकटकाल, नेपालमा राजा महेन्द्रको निधन, नयाँ राजा वीरेन्द्रको सत्तारोहण, पूर्वी पाकिस्तानबाट टुक्रिएर स्वतन्त्र बंगलादेशको निर्माण, सिक्किमको भारतमा विलय ।
सन् १९७० को दशकमा सिंगो दक्षिण एसियामा फैलिएको राजनीतिक अस्थिरता अनि भारतमा इन्दिरा गान्धीले चलाएको तानाशाही शासनका कारण नेपालको स्वतन्त्रता गुम्ने डरले बीपीलाई चिन्तित बनाइरहेका थिए । त्यही ताका भारत सरकारले नेपाली कांग्रेसका गतिविधिलाई सीमाभन्दा पचास माइल पर सिमित गर्न आदेश दियो । त्यति मात्र होइन, प्रजातन्त्रका पक्षमा वातावरण बनाउन सकिन्छ कि भनेर प्रवास गएका बीपीलाई कुनै गतिविधि बन्देज लगाउन थालियो ।
ती दिन यता नेपालको अदालतमा बीपीविरुद्व जहाज अपहरण गरेको, ओखलढुंगा कब्जाका लागि सैन्य दस्ता पठाएको लगायत आठ वटा राजकाज मुद्वा विचाराधिन थिए । सबै मुद्वामा मृत्युदण्ड माग दाबी गरिएको थियो ।
पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकसँगको लामो छलफलपछि बीपी राष्ट्रि«य एकता तथा मेलमिलापको नीतिसहित २०३३ साल पुष १६ गते स्वदेश फर्किने निष्कर्षमा पुगे । पटनाबाट काठमाडौं विमानस्थलमा ओर्लिन नपाउँदै ६ सहकर्मीका साथ बीपीलाई बन्दी बनाई फेरी सुन्दरीजलमै पुर्याइयो । यसरी बीपीले फेरी लेख्ने समय पाए । पर्याप्त समय पाए पनि कागज उपलव्ध नगराउने जेल प्रशासनको निर्णयले उनलाई झनै चिन्तित बनायो । बीपी आफैंले लेखेका छन् ।
सुन्दरीजल
८ फेब्रुअरी १९७७ (२०३३ माघ २६)
मैले केही सादा कागज मगाएँ । उनीहरुले छ पन्ना कागज ल्याए । मैले भनें, मलाई ६ ताउ अर्थात (६.२४ पन्ना) चाहिन्छ ।
क्याप्टेनले माथिको आदेश सुनायो । सैनिक हेडक्वाटरको विशेष अनुमतिविना हामीले लेख्ने कागज पाउने छैनौं रे । जेल प्रशासनको यस्तो व्यवहार देखेर रिस उठ्छ । लेख्ने कागज पाइनँ भने यहाँ बस्न असहयै हुनेछ । लेख्नलाई पत्रिकाहरु प्रयोग गर्ने गणेशमान जी (जीएम)को सल्लाह छ । पत्रिकाहरु काटेर अभ्यास पुस्तिकाको आकारमा ल्यायौं । अनि छापिएका पानाहरुका खाली ठाउँमा आफ्नो नोट र विचार लेख्यौं । सम्भवतः हामीले अब त्यसै गर्नु पर्नेछ ।
९ फेब्रुअरी १९७७ (२०३३ माघ २७)
पढ्ने किताब नभएपनि म आफ्नो जीवनी लेख्न सक्थें । नेपालको प्रजातान्त्रिक संघर्षको इतिहास लेख्न सक्थें (५०) । जसमा मैले धेरै सकृय र कहिले कहीँ त प्रमुख भूमिका निर्वाह गरेको छु । कथाहरु लेख्न अथवा नेपालको समसामयिक, राजनीतिक घटनाका बारेमा उपन्यास लेख्ने प्रयास गर्न सक्थें । कागज दिइएन र यदि आफैंले ल्याउन सकेनांै भने जीवन साँच्चिकै अत्यन्त दुष्कर हुनेछ । यो एकदम उत्साहजनक हुनेछ । लेख्नका लागि प्रयोग गर्न भनेर दुईवटा दैनिक पत्रिकाहरु गोर्खापत्र र राइजिङ नेपालका छेउछाउका खाली ठाउँहरु काटेर राख्न थालेको छु । कागज बचाउनु पर्ने भएकाले साना साना अक्षरमा लेख्ने गर्छु । यसो गर्दा कागजको धेरै ठाउँ खाँदैन । मसँग भएका डटपेनका तीन वटा रिफिल छन् । अहिले प्रयोग गरिरहेको यो कलमसहित एक सिसी मसी पनि छ । यो मसी कति दिनलाई पुग्ने हो, थाहा छैन (५१)
११ फेब्रुअरी १९७७ (२०३३ माघ २९)
दिउँसो खाजा खाएपछि समय बिताउन साह्रै गाह्रो हुन्छ । एकछिन सुत्न खोजेँ तर सकिनँ । एक्कासी मैले नेपाली कांग्रेसको इतिहास लेख्न शुरु गर्नुपर्छ भन्ने कुरा मनमा आयो । यतातिर लेखकहरुले दिनुपर्ने जति ध्यान दिएकै छैनन् । मैले लेखिनँ भने अरु कसले लेख्छ र ? त्यसपछि उठें र लेख्न थालें । एक हजार शव्द जति लेखेछु ।
लेख्ने कागज ज्यादै थोरै भएकाले हामीलाई दिइएका पत्रपत्रिकाहरुका एक इञ्च जति चौंडा छेउछाउको लामो खाली ठाउँ काटेर रोखेको छु । कागजका यी लामा टुक्राहरुमा नेपाली कांग्रेसको इतिहास लेखिँदैछ । लेख्न भनेर बाथरुममा राखिएका ट्वाइलेट पेपरलाई पनि मिलाएर राख्न थालेको छु । ट्वाइलेट पेपरको चक्का कोठामा ल्याएर अमूल्य वस्तु जस्तै दराजमा मिलाएर राख्न थालेको छु । ट्वाइलेट पेपर एकदम पातलो हुन्छ । यसमा लेख्न मिल्दैन । त्यसमा लेख्न मिले पनि डटपेनले मात्र मिल्ला । लेख्नमा आफूलाई अभ्यस्त बनाउन सके भने दिमाग खल्बल्याउने खिन्नता हुनेछैन (५४)।
कांग्रेसको इतिहास लेख्नुपर्छ भन्ने विचारले मलाई आफ्नो जीवनी लेख्न पनि प्रेरित गरेको छ । सन् १९५०–१९५९ को क्रान्तिका विषयमा एउटा उपन्यास लेख्ने विचार पनि गरेको छु । यी सबै किताब तीन तीन सय पेजका गरी नौ सय पेजका हुनेछन् (५४)।
बीपी सुन्दरीजल वन्दीगृहमा छँदैको कुरा हो । न्यायाधिश जनकमान श्रेष्ठको अध्यक्षतामा गठित विशेष अदालतमा उनीमाथिका आठ वटा राजकाज मुद्वामा सुनुवाई चलिरहेकै थियो ।
बीपीको स्वास्थ्य विग्रँदै थियो । उपचारमा संलग्न चिकित्सकहरुले अमेरिका वा वेलायतको कुनै सुविधासम्पन्न अस्पतालमा उपचार नगराउने हो भने बीपीको ज्यान जान सक्ने वा प्यारालाईसिस हुन सक्ने रिर्पोट राजा बीरेन्द्रलाई दिए । यसरी राजाको आदेशमा उपचारका लागि उनलाई रिहा गरी अमेरिका पठाइयो, फर्किएपछि पुनः वन्दी बनाउने सर्तका साथ । तीन महिनाको उपचारपछि पटना हुँदै स्वदेश फर्किने बेला बीपीले नेपाली कांग्रेसको सम्मेलन बोलाए र त्यहीँ कृष्णप्रसाद भट्टराईलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिए । काठमाडौं पुग्ना साथ त्रिभुवन विमानस्थलबाटै गिरफ्तार गरी उनलाई फेरी बन्दी बनाइयो ।
यसबीच विशेष अदालतले अधिकांश मुद्धामा बीपीलाई सफाई दिइसकेको थियो । २०३६ तिर आइपुग्दा विद्यार्थी आन्दोलन चर्किएर गयो । अनि बीपीसँगको परामर्शमा बहुदल र निर्दल मध्ये कुनै एक रोज्ने अधिकार जनतालाई दिने गरी राजा बीरेन्द्रबाट जनमतसंग्रह घोषणा भयो । तर पञ्चहरुले धाँधली गरी बहुदल पक्षलाई हराईदिए । गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईसहितका आफ्नै सहयात्री, वामपन्थी दल र बौद्विक समुदायबाट जनमतसंग्रहको परिणाम अस्वीकार गर्न बीपीमाथि तिव्र दवाव परेको थियो । तर उनले जतिसुकै अप्रिय भएपनि मतपरिणाम स्वीकार्ने वक्तव्य जारी गरे ।
जनमत संग्रहपछिका दिनमा बीपीको स्वास्थ्य अत्यन्त कमजोर थियो, केवल आत्मबलका भरमा उनी बाँचेका थिए । क्यान्सरको अन्तिम आक्रमण फोक्सोमा भएपछि छ महिनाभित्र मृत्यु हुनसक्ने निदान चिकित्सकहरुले गरिसकेका थिए । त्यही अवस्थामा बीपीले वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँग आफ्नो जीवनी रेकर्ड गराउन थाले । जुन बीपीको आत्मवृत्तान्तका नाममा प्रकाशित छ । बाँकी इतिहास सुनाउन नपाउँदै २०३९ साल साउन ६ गते ६८ वर्षको उमेरमा बीपीको निधन भएसँगै कांग्रेसको इतिहास लेख्ने उनको सपना पनि साकार हुन पाएन ।

content advertise ment

Recommended For You

About the Author: Pradip Pradip

Leave a Reply

Your email address will not be published. Required fields are marked *