काभ्रे । पाँचखाल नगरपालिका र किङ्स कलेजको संयुक्त आयोजनामा सुरु भएको कम्युनिभर्सिटी समर प्रोग्राम यही साउन ३२ गते सम्पन्न भएको छ । यही असार ३ गतेदेखि २ महिनासम्म पाँचखालस्थित सर्वमंगला बहुमुखी क्याम्पसमा सन्चालित फेलोसिपको दीक्षान्त समारोह पाँचखाल नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
समुदाय, उद्योग र शैक्षिक संस्थालाई जोडेर विद्यार्थीहरूको सिकाइलाई समाज र सिप उन्मुख बनाउने उद्देश्यले सुरु भएको यस फेलोसिपमा पाँचखाल नगरपालिकाका १२ र अन्य जिल्लाका ७ गरी जम्मा १९ जना विद्यार्थी सहभागी भएका थिए । सहभागी विद्यार्थीहरू कक्षा १२ वा सो सरहका परीक्षा दिएका र स्नातक अध्ययन गर्दै गरेका थिए ।
फिनल्याण्डस्थित कयानी युनिभर्सिटी अफ एप्लाइड साइन्सेस र अमेरिकास्थित वेस्टक्लिफ युनिभर्सिटीले स्वीकृत गरेको यस अन्तर–संकाय कोर्स डाटा साइन्स, उद्यमशीलता र समाजशास्त्रको सेरोफेरोमा डिजाइन गरिएको हो । यस कोर्स डिजाइन र कार्यान्वयनमा राष्ट्रिय वाणिज्य बैंक, एफ वान सफ्ट, फुडमान्डु, कारखाना र काठमान्डौ अर्ग्यानिक्स उद्योग साझेदारका रूपमा सहभागी थिए ।
पाँचखालको खरेलथोक स्थित भगवती माध्यमिक विद्यालयबाट अगिल्लो शैक्षिक सत्रमा कक्षा १२ को परीक्षा दिएर बसेकी छात्रा मोनिका लामाले आफ्ना प्रधानाध्यापकले भनेपछि यस कलर्सको आवेदन भरेकी थिइन् । छनोेट भएर यस कोर्स सम्पन्न हुँदा उनलाई उत्कृष्ट मार्कसिट प्राप्त गर्नु मात्र सिकाइ होइन, पढेको कुरालाई व्यवहारमा उतार्न सक्नु पर्ने रहेछ भन्ने लागेको छ । दुई महिनाको अनुभूति सुनाउँदै उनी भन्छिन्, “साथीहरूसँग मिलेर गरेको काम र त्यसबाट प्राप्त ज्ञान सबैभन्दा ठूलो धन रहेछ ।
काठमान्डौंका विद्यालयका सौरभ काफ्ले डर, द्वन्द्व र उत्साहसँगै यस फेलोसिपमा सहभागी भएका थिए । उनलाई यस कार्यक्रमले आफूलाई समुदायको नजिक ल्याएको अनुभव भएको छ । उनलाई लाग्दछ, समुदाय र उद्योगका विभिन्न व्यक्तिहरूसँगको अन्तरक्रियाले समाज हेर्ने आफ्नो दायर फराकिलो भएको छ । किङग्स कलेजबाट विद्यार्थीहरूको मेन्टर र सहजकर्ताको रूपमा दुई महिना विद्यार्थीसँगै पाँचखालमा रहेकी भावना श्रेष्ठ समुदाय, उद्योग र एकेडेमिया बीचको साझेदारी शिक्षाको लागि अत्याधिक लाभदायक भएको प्रत्यक्ष नै देख्न पाएको बताउँछिन् । उनी भन्छिन्, “दुई महिना आफैमा त्यति धेरै समय त हैन, तर यो सहकार्यले विद्यार्थीहरुमा छोटो समयमै उनीहरुको सिकाई अनुभवको वृद्धि हुँदै व्यवहारिक एक्सपोजर प्रदान भएको छ । समाजमा रहेका चुनौतीहरको ज्ञानसँगै चुनौतिलाई सामना गर्न अनुसन्धान लगायतका अन्य अपरिहार्य सीपहरूको विकासमा विशेष सहयोग पुगेको छ ।“ उनले विद्यार्थीहरूको भावनात्मक परिपक्वता विकास भएको देखेकी छिन् । पाँचखाल नगरपालिकाका मेयर महेश खरेललाई शिक्षाको हब बनाउने उद्देश्य बोकेको पाँचखाल नगरपालिकाको यस सहकार्य एक मानकको रूपमा स्थापित भएको बताउँछन् ।