एसइईको परीक्षाफल प्रकाशित, पूरक परीक्षा साउन २६ र २७ गते हुने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफल प्रकाशित गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्मासहितको उपस्थितिमा भक्तपुरस्थित कार्यालयमा बिहीबार बसेको बोर्डको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो । बोर्डले यसवर्ष अन्तिम पटकका लागि २०७२ सालको पद्धतिअनुसार नै सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर परीक्षाफल प्रकाशित गरेको छ ।
गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा सामुदायिक र संस्थागत विद्यालयका साधारणतर्फ कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो । परीक्षामा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले भाग लिएको बोर्डको भनाइ छ । बोर्डका अनुसार प्राविधिक धारतर्फ १५ हजार चार सय ६१ जना परीक्षार्थी थिए ।
२०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत प्राप्ताङ्क हुनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम प्राप्ताङ्क हुनेलाई ए, ७० देखि ८० भन्दा कम प्राप्ताङ्क हुनेलाई बी प्लस ग्रेड प्रदान गरिन्छ । साथै ६० देखि ७० भन्दा कम प्राप्ताङ्क हुनेलाई बी, ५० देखि ६० भन्दा कम प्राप्ताङ्क हुनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम प्राप्ताङ्क हुनेलाई सी, ३० देखि ४० भन्दा कम प्राप्ताङ्क हुनेलाई डी प्लस, २० देखि ३० प्राप्ताङ्क हुनेलाई डी तथा २० भन्दा कम प्राप्ताङ्क हुनेलाई ई ग्रेड प्रदान गरिन्छ ।
पुनर्योगका लागि आवेदन माग
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई), २०७९ मा सहभागी विद्यार्थीले प्राप्त ग्रेडमा चित्त नबुझेमा पुनर्योगका लागि आगामी साउन ५ गतेसम्ममा आवेदन दिन सूचना प्रकाशन गरेको छ ।
साधारण र प्राविधिकतर्फ नियमित तथा ग्रेडवृद्धि परीक्षामा सहभागी विद्यार्थीले तोकिएको ढाँचा तथा प्रक्रियाबमोजिम पुनर्योग गराउन आवेदन दिन सक्नेछन् । सोका लागि बोर्डको कार्यालय या सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा तोकिएको आवेदन दिन सकिनेछ । सोका लागि आवश्यक व्यवस्था मिलाउन सबै एकाइहरुलाई बोर्डले भनेको छ ।
पूरक परीक्षा साउन २६ र २७ गते
माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जनाएको छ । अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् । बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षाथीले पनि पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ । ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय एकाइमा पेस गर्नुपर्ने उक्त सूचनामार्फत जनाइएको छ ।
परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन् । एक विषयको मात्र पूरक परीक्षा दिनुपर्ने विद्यार्थीले पहिलो दिन परीक्षा दिनुपर्नेछ । गत चैत १७ गतेदेखि सञ्चालन गरिएको एसइईको नतिजा यही असार २१ गते सार्वजनिक गरिएको थियो । त्यसमा २२ हजार चार सय ७५ विद्यार्थीले ‘ए प्लस’ ग्रेड ल्याएका थिए ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *