काभ्रे । एकीकृत बचत तथा ऋण सहकारी संस्था लिको १५औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले उद्घाटन गर्नुभएको कार्यक्रममा उहाँले सहकारीका सिद्धान्त अनुरुप चल्न सके दीगो रुपमा सहकारी सञ्चालन हुने बताउनुभएको थियो । उहाँले अहिले सहकारीमा आएको बेथितिले गर्दा सहकारीहरुले बदनामी कमाएकोले बेलैमा सहकारीहरुले सचेत हुनुपर्ने र सहकारीका सञ्चालक र उपसमितिका पदाधिकारीहरुले ऋण नलिएर सहकारीलाई मार्ग प्रशस्त बनाउनुपर्छ भन्दै सहकारी फस्टाउने तर्फ हामी सबै लाग्नुपर्ने बेला भइसकेको बताउनुभयो ।
संस्थाका अध्यक्ष काजीबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका सहकारी संघ लेखा समितिका संयोजक शम्भुलाल श्रेष्ठ, संस्थापक अध्यक्ष लक्ष्मीकृष्ण ताम्राकार, पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतिराम तिमल्सिना र उद्यम विकास साकोसका अध्यक्ष रोशनकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संस्थाका सञ्चालक सदस्य ज्ञानदास श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने लक्ष्मण मातंछेले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाका सचिव भरत रावलले संस्थाको वार्षिक गतिविधि र कोषाध्यक्ष बसुन्धरा आचार्यले संस्थाको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो भने संस्थाका लेखा समिति संयोजक बालाकृष्ण प्रजापतिले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाको शेयर पुँजी २ करोड ३७ लाख, बचत १८ करोड ८ लाख २९ हजार, ऋण लगानी १५ करोड ९८ लाख ३८ हजार, जगेडा कोष २ करोड ३९ लाख ५६ हजार रहेको वार्षिक पुस्तिकामा जनाइएको छ ।