आफ्नै ताल, तरिका र तयारीमा चरैवेति चरैवेति

उन्नाइस वर्ष लागेछ हिँड्न थालेको । वेदले निर्देश गरेको छ ‘चरैवेति चरैवेति’ । हिँडिरहू, हिँडिरहू । त्यसैले हिँडेको हिँड्यै । हिँडेर कहाँ पुगिने हो, थाहा छैन । हिँड्नुपर्छ भन्नेचाहिँ थाहा छ । त्यही थाहा बोकेर हिँडेको उन्नाइस वर्ष लागेछ ।
मान्छेहरू अनेकथरि बोकेर हिँड्छन् । कोही ईष्र्या र आरिस बोकेर हिँड्छन् । तिनीहरू प्रतिस्पर्धा र घमण्डलाई सँगसँगै बोकेर हिँडाउँछन् । कोहीचाहिँ बोक्न त बोक्छन्, तर आफूलाई र अरूलाई बोझ नबन्ने भारी बोकेर हिँड्छन् । कोही अरूलाई उछिन्न छिटोछिटो हिँड्छन्, छिटै थाक्छन्, विश्राम गर्छन्, त्यसै बेला निदाउँछन् र आफूभन्दा पछि हिँड्न थालेकाहरूले उछिनिसकेको पत्तै पाउँदैनन् । कोही आफ्नै गतिमा बिस्तारै हिँड्छन्, आराम पनि हिँड्दाहिँड्दै गर्छन् र अघि बढिरहन्छन् । कोही खहरे गडगडाएजस्तो गर्दैै हिँड्छन्, कोही नदी सुसाएजस्तै गरी हिँड्छन् । हिँड्नेहरूको आआफ्नै ताल, तरिका र तयारी छन् ।
आफ्नै विचारमा, आफ्नै व्यवस्थापनमा, आफ्नै तरिकामा, आफ्नै गतिमा हिँड्नु पो हिँड्नु ! कहिले अरूको हात समातेर, कहिले आफैँ सक्छु भन्ने फुर्ति गरेर, कहिले रिसले दाह्रा किटेर, कहिले खुसीले फुरुक्क परेर, कहिले लड्ने र उठ्ने गरेर, कहिले खाली पेट त कहिले भरी पेट पारेर हिँड्नु पनि के हिँड्नु ! हिँड्नेले त शान्त समुद्रजस्तै हुनुपर्छ, बगे पनि बगेको अरूले देख्न नसक्ने गरी, बाफ बनेर उडे पनि अरूले थाहा पाउन नसक्ने गरी । ठ्याक्कै मध्यमार्गी हिँडाइ ।
उन्नाइस वर्षसम्म हिँड्दा बाटामा अनेक मान्छे भेटिए । अनेक ढिस्का भेटिए । अनेक मैदान भेटिए । अनेक वस्तु भेटिए । भेटिँदै गए, छुट्तै गए । हिँडाइमा यस्तै हुन्छ । भेटिन्छ र छुट्छ । कोही छोटो अवधिमा छुट्छन्, कोही लामो अवधिमा । छुट्नचाहिँ अवश्य छुट्छन् । एउटा छुट्छ, अर्को जोडिन्छ । हिँडाइ भइरहन्छ । जिन्दगी भनेको त्यही हिँडाइ त हो !
करबलको हिँडाइ भए उन्नाइस वर्षसम्मको हिँडाइ उन्नाइस शताब्दी लामोजस्तो हुन्थ्यो । स्वेच्छाको हिँडाइ भएकाले उन्नाइस दिनको हिँडाइजस्तो पनि भएको छैन । हिँडाइ यस्तै हुनुपर्छ ।
कहिलेसम्म हिँड्ने भन्ने प्रश्न उठाउँछन् कोही । वेदले भन्छ ‘नेति नेति’ । अर्थात् हिँडाइको अन्त्य छैन । हिँडाइ भनेको जीवन हो । जीवनको अन्त्य छैन । जीवनको त रूपान्तरण मात्रै छ । मर्नु भनेको अन्त्य हुनु होइन । त्यो त एउटा जीवनबाट अर्को जीवनमा जाने रूपान्तरणको प्रक्रिया मात्रै हो । त्यसैले हिँडाइको पनि अन्त्य छैन ।
हिँड्नुपर्ने हिँडाइ मध्यमार्गी । मध्यमार्गी न वाममार्गको नाउँमा दाममार्गको खोजी गर्छ, न दक्षिणमार्गको नाउँमा अलच्छिनमार्गतिर लागेको हुन्छ । त्यस्तो मध्यमार्गी न उत्तरमार्गको सोत्तरमार्ग अवलम्बन गर्छ, न पश्चिममार्गको अनुकरण गरेर ‘मच्चिम–मच्चिम थच्चिम’ मार्गको अनुयायी बन्छ ।
आफ्नै लयमा हिँड्नेहरू प्रलयसँग डराउँदैनन् । प्रलय आफ्नो काबुभन्दा बाहिरको होस् अथवा आफूभित्रैबाट उत्पन्न हुने होस्, प्रलयले कहिल्यै लय समाउँदैन । प्रलयले विध्वंस मच्चाउँछ, लयले विध्वंसलाई सच्याउँछ । सच्याउनका लागि मध्यमार्गी हुनुपर्छ । त्यस्ता मध्यमार्गीलाई आफ्नै माटो र मुटु चाहिन्छ, आफ्नै विवेक र बुद्धि चाहिन्छ, आफ्नै शिक्षा र दीक्षा चाहिन्छ, आफ्नै संस्कृति र सम्पदा चाहिन्छ, आफ्नै भाषा र भक्ति चाहिन्छ, आफ्नै सोच र शक्ति चाहिन्छ । त्यस्तो मध्यमार्गी नबनी मध्यमार्गमा यात्रा गर्न सकिँदैन ।
‘मध्यमार्ग साप्ताहिक’ । हो, मैले मध्य–मध्यको मार्ग बनाउँदै हिँडेको ‘मध्यमार्ग’ को कुरो गरेको हुँ । साता–सातामा छापिने ‘मध्यमार्ग साप्ताहिक’ को कुरो गरेको हुँ । त्यसको सम्पादनको दीप बालेर हिँडेको प्रदीप केसीको कुरो गरेको हुँ । प्रदीप केसीका लागि यति कुरो बेसी होइन ।
प्रदीप केसी र ‘मध्यमार्ग साप्ताहिक’ को उन्नाइसबर्से सहयात्रा लम्बिँदै जाओस् । प्रकाशनका क्षेत्रमा गरिएको शब्दको यो मध्यमार्गी यात्रामा प्रदीप केसीको ‘होस्टे’ को उत्तरमा शब्दयात्रा प्रकाशन ‘हैंसे’ भन्न चाहन्छ । यस्ता वर्षहरू अझै थुप्रै थपिनुपर्छ । चरैवेति चरैवेति ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *