आध्यात्मिक स्तम्भः खोजी उज्यालोको–१०…!

ज्ञानमणि नेपाल कालोटोपी
पाउजुलाई २ हजार रुपैंयाँ पर्छ तर गोडामा लगाइन्छ । मखमलको टीकाको एक रुपैंयाँ पर्छ तर टाउकोमा लगाइन्छ । पुस्तकालयमा भएका गीता, वाइबल र कुरान कहिल्यै लड्दैनन्, जो यी तीन किताबका लागि लड्छन् , उनीहरुले कहिल्यै ती किताब पढ्दैनन् । इतिहास साक्षी छ कि नुनमा कहिल्यै किरा पर्दैन, तर मिठाइमा छिट्टै किरा लाग्छ । नुन जस्तो चर्को ज्ञान दिने असल मित्र मात्र हुन्छ, मिठो बोली बोल्ने त चाप्लुसीबाज मात्र हुन्छ । रक्सी बेच्न कतै जानु पर्दैन तर दूध बेच्न घरका ढोकाढोका मात्र होइन, टोल समाजका गल्लीगल्ली जानुपर्छ । तैपनि मानिसहरु उसलाई सोध्छन्, ‘दूधमा पानी हालेको त छैन ?’ तर रक्सीमा आफ्नै हातले पानी हाली हाली पिउँछन् मान्छेहरु ।
यी कुराले के जनाउँछ भने, साँचो कुरा बुझाउन मानिसलाई धेरै समय लाग्छ तर झुटो कुरा छिट्टै बुझ्छन् । कतिपय मानिसहरु आफूले गरेका हजारौं राम्रा कामको पनि प्रचार गर्दैनन् तर उसले एउटा मात्र गल्ती गरे पनि समाजभरि मानिसहरु कुरा काट्न थाल्छन् । मानिसको जीवन कर्कलाको पानी जस्तै हो भनिन्छ तर यो थाहा भएर पनि मान्छे यतिसम्म घमण्डी हुन्छ कि म जति जान्ने यो संसारमा कोही छैन सोच्न थाल्छ । तर उसले जानेको चाहिँ केही हुँदैन । अरुलाई आफूले कहिल्यै एकरुपैंयाँ पनि दान गर्दैन तर अरुले चाहिँ आफूलाई घरैभरि सहयोग गरिदिए हुन्थ्यो जस्तो गर्छ । कोही मानिसहरु आँखामै राखे पनि नबिझाउने खालका हुन्छन् तर त्यस्तै मानिसको मृत्यु छिट्टै हुन्छ । कोही समाजमा कलंक भएर पनि केही रोग नलागी वर्षौंसम्म बोझ भएर बाँचिरहेका हुन्छन् ।
भोको पेटले राष्ट्रियता जोगिँदैन, आदर्शका कुरा गर्नेले पनि भोकै बस्न सक्दैन । मान्छेहरु घरभरि धनसम्पत्ती थुपार्न पाए हुन्थ्यो भन्ने सोच्छन् तर त्यही धनले थिचिएर उसको मृत्यु हुने अवस्था आउँदा पनि थाहा पाउँदैनन् । मरेर लैजानु केही छैन भनेर उनीहरुले कहिल्यै सोच्नै पाउँदैनन्, जतिबेला सोच्न थाल्छन्, समयले नेटो काटिसकेको हुन्छ । आफूले अरुबाट सहयोगको अपेक्षा गरिन्छ भने आफूले पनि उसलाई परेको बेलामा सहयोग गर्न सक्नुपर्छ । परिवार, समाज र देशलाई केही गर्न सक्नु नै जन्मिनुको सार्थक हो । स्वार्थी भएर आफ्नो परिवार मात्र पाल्ने सोच राख्नेले एकदिन एक्लै मर्नुपर्छ । आफ्नै परिवार मात्र त जनावरले पनि पाल्छन् नि, त्यसो भए मानिस र जनावरमा के फरक भयो र ?
हामीले फेर्ने हरेक सेकेण्डको साससँगै आयु घटिरहेको छ । कोही मानिस जीवनको ८० वर्ष बाँच्छ भने उसले आधा समय अर्थात ४० वर्ष त सुतेरै बिताउँछ । बाँकी रहेको समयमा पनि जन्मेदेखि १५ वर्षसम्म हुर्कदैँ जान्छ । २५ वर्षसम्म पढाइलेखाइमै जान्छ । त्यसपछि बिहेबारी, बच्चाबच्ची जन्माउँने, हुर्काउने, जागिर यस्तै यस्तैमा समय घर्किरहेको हुन्छ । कमाउने, खाना पकाउने, खाने समय पनि यसैभित्र पर्छ । केही बाहेक सबै मानिसले यस्तै काम गर्ने गरेका हुन्, त्यसपछि समाजलाई दिने समय खै ? अझै महत्वपूर्ण त उसले आफ्नै लागि समय कहिले दिने ? यी धेरै समय र विषय बुझ्नेका लागि जीवन निकै महत्वपूर्ण छ, अन्यथा बुझिनसक्नुको छ । समय र परिस्थिती बुझेर अघि बढ्न सक्ने मान्छे जीवनमा कहिले पनि हार्दैन, मरेर पनि ऊ कहिल्यै मर्दैन । अन्यथा बाँच्नु र मर्नुमा खासै भिन्नता रहँदैन ।
खुर्सानीको स्वाद पीरो हुन्छ, करेला तितो हुन्छ, ऊखु गुलियो हुन्छ । हामीले खुर्सानी खाएर ऊखुको स्वाद पाउन खोज्नु भनेको मूर्खता हो । यी सबैको आआफ्नै महत्व छ तर सबैबाट पाउने फाइदा पनि छन् । खुर्सानी खाएर कस्तो पीरो रहेछ भन्नु पनि झन मूर्खता हो, किनकी खुर्सानीको स्वाद सधैं नै पीरो हुन्छ भन्ने हेक्का खानुअघि नै राख्न सक्नुपर्छ । हो यस्तै, हामीले मानिस पनि को असल र को खराब छ भनेर बेलैमा चिन्न सक्नुपर्छ । असल मान्छेको संगत गुलियो हुन्छ, खराब मान्छेको संगत पीरो र तितो हुने नै हो । मूर्खको संगत गरेर असल व्यवहारको कल्पना गर्न सकिँदैन । पृथ्वी गोलो छ, हरेक दिनमा उज्यालो र अँध्यारो आउँछ । मानिसको जीवन पनि यस्तै हो । सधैं सुख मात्र वा सधैं दुःख मात्र आउँदैन । यसमै जीवन जिउनुको मजा छ ।

content advertise ment

Recommended For You

About the Author: Pradip Pradip

Leave a Reply

Your email address will not be published. Required fields are marked *