मानिस अरुलाई प्रश्न गर्छ तर त्यही प्रश्न उसैलाई गरियो भने रिसले मुर्मुरिन्छ । अर्थात उसलाई कसैले आरोप लगायो भने सहन गाह्रो हुन्छ । यो मानव विशेषता नै हो । अरुलाई आपत प¥यो भने मान्छे निकै आदर्शवादी बन्छ, यो प्राकृतिक नियम हो, यस्तो सामान्य हो, सहनै पर्छ, चिन्ता नगर्नुस्…। यस्तै यस्तै भनेर अरुलाई सम्झाउने मानिस आफूलाई त्यही विपत आयो भने छात्ती पिटीपिटी रुन्छ । यसलाई यो पनि भन्न सकिन्छ की अरुलाई उपदेश दिन सजिलो छ, त्यही उपदेश आफूले भने पालना गर्न निकै कठिन छ ।
प्रकृतिको नियम यो छ की कुनै पनि जीव जन्मिएपछि एक दिन मर्नै पर्छ । यो पृथ्वीको पनि एक दिन अन्त्य हुन्छ भने अरु जीव जनावर, रुख विरुवा, मानिसको त के कुरा ? हामी मर्नकै लागि जन्मिएका हौं भनेर बुझ्न सकियो भने जिन्दगीमा कसैले कहिल्यै पनि दुःख पाउनु पर्दैन । आज एउटालाई परेको दुःख भोलि घुम्दै अर्कोलाई पनि आउँछ । यसमा धेरै विष्मात गर्नु पर्दैन ।
मान्छेको प्रवृत्ती नै हो, अरुको भलो नचाहनु । अरुलाई दुःख दिनु र कसैको प्रगति देखिनसहनु । कसैले राम्रो गरेको अर्कोले सुन्न चाहँदैन । त्यो प्रगति गर्न मानिसले कति दुःख र हण्डर खाएको छ भनेर उसले बुझ्न चाहँदैन, त्यसबाट आफूले सिक्न चाहँदैन, बरु कसरी उसको खुट्टा तान्ने भनेर त्यसमा निरन्तर लागिरहन्छ । आफूले अरुको राम्रो देख्न चाहँदैन भने आफ्नो राम्रो पनि त अरुले देख्न नचाहने होला नि । यो उसले कहिल्यै बुझेको हुँदैन । कतै सफा गर्न सकिँदैन भने फोहोर किन गर्नु ? कसैको प्रशंसा गर्न सकिँदैन भने उसको कुरा किन काट्नु ? तर मानिस यहि गर्छ र आफैं दुःखमा फस्छ ।
हामीले लगाउने उज्यालो र चम्किलो पहेंलो धातु सुन त्यतिकै महंगो भएको होइन नि । खानीबाट झिक्दा त्यो सुन पनि अरु ढुंगा जस्तै थियो । त्यसलाई प्रशोधन गरियो । धेरै आकारप्रकारमा ढालियो, आगोमा पोलियो र पो आज सुनलाई सबैले महत्व दिएका छन् । उसलाई सबैले रुचाएका छन् । मानव जीवन पनि त्यस्तै हो नि, असली सुन बन्न जसरी त्यो धातु आगोमा पोलिनु पर्छ, त्यस्तै मानिस पनि सफल बन्ने हो भने धेरै संघर्ष गर्नु पर्छ । दुःख गर्नु पर्छ, अरुको रिस र डाहा गरेर जीवन सफल कहाँ बन्छ र ?
दुःख गर्ने शिलशीलामा मानिसका पैतालामा काँडा बिझ्न सक्छ, टाउकोमा बज्र पर्न सक्छ, यसमा कहिले पनि आत्तीनु हुँदैन । किनकी छातीमा फूल परेको दिन त जीवन सकिन्छ नि । यो कुरा हामीले कहिले नि भुल्नु हुँदैन । संसारमा हामी आज यो मेरो, त्यो मेरो, यति धन सम्पत्ती मेरो, यति जग्गा मेरो भन्छौं र उस्तै घमण्ड पनि गर्छौं । तर एकपटक सोचौं त ती वस्तु तपाइँको हुनुभन्दा पहिले अरु कसैका थिए होलान् नि । पुख्र्यौली धनसम्पत्ती मेरो भनेर तपाइँका बाबु, बाजे कति बितिसके । त्यही सम्पत्ती तपाइँ आज मेरो हो भन्दै हुनुहुन्छ । तपाइँले पृथ्वीमा आउँदा के ल्याउनु भएको थियो र जाँदा के लैजानुहुन्छ ? तपाइँले आज मेरो भनेर दाबी गरिरहेका सबै भौतिक सम्पती भोलि ती सबैलाई छोडेर जानु पर्छ भने सोच्नुस् त, तपाइँको यो धर्तीमा के रैछ त ?
तपाइँका साथीभाई, आफन्त, दाजुभाई, बुबाआमा, श्रीमती, छोराछोरी ती सबैलाई छोडेर एकदिन नयाँ गन्तव्यमा जानु नै छ भने यी सबै मेरा भनेर भन्नुको के अर्थ छ त ? यहाँ बुझ्नु पर्ने कुरा यो छ की तपाइँले यो धर्तीमा के राम्रो काम गर्नु भयो, जसलाई तपाइँ मरेर गए पनि संसारले याद गरिरहोस्, हो त्यही हो तपाइँले कमाएको । आज हामी गौत्तम बुद्धलाई सम्झिरहन्छौं । उनी न हाम्रा आफन्त हुन्, न घरपरिवार नै । हामीलाई हाम्रो बाजेको नाम के हो भनेर थाहा नहुन सक्छ तर गौत्तम बुद्धको नाम सुन्ने बित्तीकै उनका कामहरुको याद आइहाल्छ । गौत्तम बुद्ध जन्मिएका कति वर्ष पहिले, न उनलाई हामीले कहिल्यै देख्यौं, न उनको मुहार केही थाहा छ, तैपनि हामी उनलाई विर्सन सक्दैनौं । हो यस्तै गरि नाम कमाउन सक्यौं भने असली मानव हामी बन्न सक्छौं । खाने, बस्ने र विष्टा गर्ने त जो कोहीले पनि गर्छ तर हामीले त्यति मात्र गरेर हुँदैन ।
क्रमशः…