आध्यात्मिक चिन्तन ः खोजी उज्यालोको …! ८

ज्ञानमणि नेपाल कालोटोपी
किसानले खेतबारीमा काम गर्छ, केही फल त पक्कै लाग्छ भनेर । यस्तै कुनै उद्यमीले लगानी गर्छ, केही त फाइदा होला नि भनेर । जब उनीहरुको लगानीले पूर्णता पाउँछ, खुशी हुन्छन् र अर्को नयाँ काममा जाँगर चलाउँछन् । फाइदा भएन भने निराश हुन्छन् । यो मानवीय प्रवृत्ति हो ।
हामी सबैले भगवान श्रीकृष्णले भनेजस्तो निष्काम कर्म त गर्न सक्दैनौं तर एकपटक असफल हुँदैमा आत्तिनु भने हुँदैन, काम गर्न छोड्नु हुँदैन । किनकी मानिस जन्मिएकै काम गर्नका लागि हो । कामको कुनै अन्त्य हुँदैन । अनि सफल भइयो भने पनि मात्तिनु पनि हुँदैन ।
सत्य बोल्दा कसैलाई नपच्न पनि सक्छ, किनकी यहाँ साँचो कुरा सुन्ने र सहन सक्ने धैर्यता कसैसँग पनि छैन । भनिन्छ नि, अर्ति, उपदेश र औषधी तितो हुन्छ र पचाउन गाह्रो हुन्छ । यदि उसले यी कुरा पचाउन सक्छ भने उसले जहाँ गए पनि हार्नु र झुक्नु पर्दैन । सबैलाई आफू अनुकूलका कुरा हुनुपर्छ, स्वार्थी छ संसार । कसैले केही कामको लागि स्वार्थ छैन भन्छ भने बुझ्नुस् त्यो मान्छे कि त झुटो बोल्दैछ कि त उसले शारीरिक अवस्थामा केही समस्या छ । यसो भन्दा म पनि झुट हुन सक्छु तर यो कलियुग हो हजुर, यहाँ बाउले छोरालाई, आमाले छोरीलाई पनि आआफ्नै स्वार्थअनुसार प्रयोग गरिरहेका हुन्छन् । तर सबैमा यो नियम नलागेको पनि होला, केही समयको अन्तरालपछि हुने आखिर त्यही हो ।
तपाइँहरु आफन्त र साथीभाईसँग सम्बन्ध जोगाउन चाहनुहुन्छ भने ऊसँग कहिले पनि आर्थिक कारोबार नगर्नुस् । जब सम्बन्धमा धनको प्रवेश हुन्छ, सारा योजना चौपट हुन्छन्, दाजुभाइ, बाउछोरा, आफन्त सबै धनकै पछि हुन्छन् तर मर्दा कसैले पनि कति पनि धन लैजादैनन् । मान्छे मरेपछि उसको भौतिक शरीर त खरानी भएर माटोमै मिल्छ तर उसले गरेका कामहरु भने युगौंसम्म रहन्छन् । भगवान गौत्तम बुद्ध पनि जन्मिदै भगवान भएका होइनन् । उनी कस्ता थिए भन्ने पनि अहिलेका मानिसलाई थाहा छैन । तर उनले गरेका राम्रा कामले मानिसहरुले उनलाई भगवान मानेका छन् । यो सानो उदाहरण मात्र हो ।
तिर्न नसकेको कसैको ऋण अनि प्रगति गर्न नसकेका दिनहरुले मानिसलाई धेरै सताउँछ । यसैको खोजीमा उसले अनेक हण्डर खानुपर्ने हुन सक्छ तर लक्ष्यमा पुग्न मानिस जीवनभर भौतारिन्छ तर गन्तव्यमा नपुग्दै संसारबाट बिदा भएर जान्छ । त्यसैले मानिसले धन कमाउने र जमाउनेभन्दा पनि जीवनमा राम्रा कामका लागि समय खर्चिन सक्यो भने त्यही ठूलो धन हो । धनको परिभाषा ठ्याक्कै यही हुन्छ भन्ने छैन तर कसैले रुपैंयाँ पैसालाई धन मानेका हुन्छन् । कसैले जग्गा जमिन त कसैले सुनचाँदी । वास्तवमा सोच्ने हो भने यी कुनै पनि वस्तु धन होइन, किनभने आफूलाई चाहिने बेलामा जे सहज उपलब्ध हुन्छ, त्यही धन हो । आज हामीहरु धन मानिएका रुपैयाँ पैसाहरु बैंकमा थुपार्छौं तर त्यही रुपैयाँको अभावमा कहिलेकाहीँ आफूलाई लागेका रोगको उपचार गर्न सक्दैनौं । त्यतिबेला त्यो धनले के काम गर्न सक्छ र ?
हरेक व्यक्तिको समय एकपटक आउँछ तर सधैं त्यो समय रहँदैन । समय आएको बेलामा त्यसको सदूपयोग गर्न सकिएन भने फेरि त्यो समय फर्केर आउँदैन, आउँछन् त केवल याद र सम्झनाहरु । केही कामको अवसर आयो भने म सक्दिनँ, मलाई आउँदैन, म असक्षम छु भन्नु कायरता हो । जे कामको लागि पनि सक्दिनँ भन्ने होइन, म प्रयास गर्छु भन्नुपर्छ । जन्मिँदै जानेर र विज्ञ भएर कोही आएको हुँदैन । संसारमा सबैजना सिक्नकै लागि आएका हुन् । कसैले राम्रो काम सिक्छन् त कसैले खराब । यहाँ कि असल मानिसको इतिहास लेखिन्छ कि खराब मानिसको । मध्यम मानिस सधैं मध्यम नै हुन्छ । त्यसैले असल बन्ने कि खराब त्यो तपाइँको कर्ममा भर पर्छ ।
अहिले मानिसहरु हातमा लाल्टिन बोकेर आगोको खोजीमा हिँडिरहेका छन् तर उनीहरुले आगो आफ्नै हातमा छ भनेर देखेका छैनन् । लाल्टिन बाल्दा आगोबाटै वत्ती बलिरहेको छ नि तर हामी त्यो आगोलाई देखिरहेका छैनौं वा देखेर पनि हेक्का राखिरहेका छैनौं । त्यसैले आगोको खोजीमा दौडिन्छौं, जुन दौडाई बिनाअर्थको पनि हुन सक्छ । हामीले आफूसँग भएका हरेक वस्तुको पहिले सदूपयोग गर्न सक्ने हो भने कोही कसैसँग कहिले पनि हार्नु पर्दैन । हामीले अहिले महान् मानिस भनेर सम्बोधन गरिरहेकाहरुका पनि शुरुवातका दिनहरु निकै दुःखदायी थिए भनेर भुल्नु हुँदैन ।

content advertise ment

Recommended For You

About the Author: Pradip Pradip

Leave a Reply

Your email address will not be published. Required fields are marked *