ज्ञानमणि नेपाल कालोटोपी
मध्यमार्ग साप्ताहिक आजदेखि २० औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा हामीले यो अंकदेखि नियमितरुपमा नयाँ स्तम्भ शुरु गरेका छौं । मानव जीवन के हो, यसको अस्तित्व के छ संसारमा ? यस्तै विषयहरु हामी यो स्तम्भमा प्रकाशित गर्नेछौं । यहाँहरुका प्रतिक्रिया, सल्लाह, सुझाव हामीलाई सधैं चाहिन्छ ।
पृथ्वीमा जतिपनि जीव जन्मिएका छन् , ती सबैको आआफ्नै अस्तित्व र महत्व पनि छ । हुन त मानव जति चेतनशील अरु जीव पृथ्वीमा छैनन् , तर हजारौं जीवहरु आफूलाई बचाउन हरेक दिन संघर्ष गरिरहेका छन् । कतिपय अवस्थामा कुनै जीव बाँच्नका लागि अर्को जीवको मरण आवश्यक पनि हुनसक्छ । जस्तै बाघको लागि आहारा अर्को जीव अनिवार्य छ । किनकी उसले मासु मात्र खान्छ, मासु अर्को जीव वा जनावर मरेपछि मात्र पाइन्छ । यदि यो संसारमा बाघको अस्तित्व बचाउने हो भने अर्को जीव उसको लागि शिकार बनिदिनै पर्छ । यो प्राकृतिक नियम पनि हो ।
आज मानिस जे को आधारमा बाँचिरहेको छ, त्यो पनि उसको विवेकले निर्धारण गरेको हो । किसानले खेती नगरि अन्न फल्दैन भनिन्छ तर यहाँ बुझ्नु पर्ने के छ भने खेती नगरे पनि अन्न फल्छ, त्यो पनि पृथ्वीमै उब्जिएको हो । यति हो की खेती गर्ने तरिका फरक पारेर उसले धेरै उत्पादन गर्न सक्छ । त्यहि अन्न पनि उसले आफ्नो सन्तान वृद्धि गरेको हो, बीउ उत्पादन गरेको हो । मानौं एक गेडा धान उम्रिएर एउटा बोट बन्छ । त्यसमा करिब १०० दाना फल्यो भने हामीले यो बुझ्नु पर्छ की एउटा बोट धानले १०० वटा सन्तान उत्पादन ग¥यो । अब ती सय दानाबाट यहि अनुपातले फल्दै जाने हो भने कति उत्पादन होला, अनुमान लगाउन पनि सकिँदैन । यो त धानको उदाहरण हो । यस्ता हजारौं अन्न बाली, जीव जनावर, रुखविरुवा सबैको यहि अवस्था हो । मात्र यति फरक छ की, उत्पादनका तरिका सबैका फरक फरक हुन्छन् ।
हामी यो पनि बुझौं की यो पृथ्वीमा मानिसहरुले पनि आफ्ना वंश वृद्धि मात्र गरिरहेका छन् । आज मानिस हरेक दिन व्यस्त छ । बिहान उठेदेखि बेलुका नसुतेसम्म हजारौं सपना बोकेर मान्छे भौंतारिइरहन्छ । हरेक दिन यसरी नै ऊ दौडिरहन्छ, दौडिदै गर्दा एकदिन उसको पृथ्वीको ऐसआराम र भोगविलासको समय सकिन्छ र सपना सपनामै रहँदै उसले संसार छोड्नु पर्छ । मानिस पनि पृथ्वीको एक जीव हो । यहाँ बाँचुन्जेल भने उसले संघर्ष भने सधैं नै गरिरहेकै हुन्छ ।
आजको मान्छे पैसाको लागि आफ्ना सबै चिज गुमाउन तयार छ । उसलाई अरुभन्दा धेरै कमाउनु छ, अरुभन्दा धेरै रमाइलो गर्नु छ । सुखसुविधा लिनु छ । यसकै लागि ऊ परिवार, नातागोता, आफन्त सबैसँग टाढा हुन पनि बेर लगाउँदैन । केवल सिमित स्वार्थका लागि उसले आफ्नो अस्तित्व के हो, महत्व के हो, म के का लागि यो पृथ्वीमा छु र के गरेर पृथ्वी छोड्दैछु भन्नेसम्मको हेक्का मानिसमा हुँदैन ।
संसारका हरेक जीव, जनावर, रुखविरुवा लगायत सबैका फरक फरक विशेषता छन् । जस्तै मानिसले कानले सुन्छ, आँखाले देख्छ, नाकले गन्ध थाहा पाउँछ, जिब्रोले स्वाद लिन्छ र छालाले तातो वा चिसो महसुस गर्छ । दिमागले समग्र शरीरलाई निर्देशित गर्छ । अब यहाँ बुझ्नु पर्ने कुरा के छ भने यी सबै अंगहरु मासुले बनेका छन् । ती अंग काटेर हेर्ने हो भने सबै उस्तै छन् । आँखाले कसरी देख्न सकेको होला ? नाकभित्र के छ र त्यस्तो, जसले फरकफरक गन्ध थाहा पाउँछ ? जिब्रो पनि त मासुकै हो, के छ यसमा नयाँ र उसले स्वाद थाहा पाउँछ ? यथार्थमा यहि कुरा नबुझ्दा मानिस आज दुःख पाइरहेको छ । यो गर्दा हुन्छ की भन्यो, त्यो गर्दा हुन्छ की भन्यो । आखिर केही गर्न नसकेरै उसले संसार छोड्नु पर्छ ।
हामी यस स्तम्भमा यस्तै रोचक विषयहरु उठान गर्नेछौं । यो भाग यति नै । बाँकी आगामी हप्ता…. क्रमशः