आध्यात्मिक चिन्तनः खोजी उज्यालोको …! ११

ज्ञानमणि नेपाल

हरेक वस्तु र मानिसलाई ठाउँ अनुसार सम्बोधन गरिन्छ । जस्तो बिहेमा गएको मानिस जन्ती हुन्छ भने त्यही मानिस कसैको मृत्युमा आर्यघाट गएको छ भने उसलाई मलामी भनिन्छ । पानी पानी नै हो, त्यो मन्दिरमा चढाउँदा जलको उपनामले चिनिन्छ भने शौचालय जाँदा पानी नै भनिन्छ । हरेक दिन पैतालाले कुल्चिएको ढुंगा मानिसको मिहेनतले मुर्ति बन्छ । कुनै पनि वस्तु वा चीजको महत्व त्यतिबेला थाहा हुन्छ, जतिबेला त्यो आफ्नो हातबाट उम्किसकेको हुन्छ । कुनै मानिस संसारका सबै कुरा आफूलाई मात्र थाहा छ, अरुलाई केही पनि थाहै छैन भन्ने घमण्ड पाल्छ तर वास्तवमा उसलाई केही कुरा नै थाहा भएको हुँदैन । धेरै पीरो भएपछि मरिच पनि चाउरिन्छ भनेजस्तै त्यो मानिस घमण्डले आफैं साँघुरिएको उसैले थाहा पाउँदैन ।
हामी सधैं अरुलाई अर्ति उपदेश र पाठ पढाउँछौं तर त्यसलाई आफ्नै व्यवहारमा उतार्न भने सक्दैनौं वा सकेर पनि गर्दैनौं । अरुको गल्ती हामी छिट्टै देख्छौं तर आफूले गरेका धेरै ठूला गल्तीहरुको कुनै हेक्का राख्दैनौं । अरुले आफूलाई राम्रो कुरा दिए हुन्थ्यो, राम्रो सम्मान गरिदिए हुन्थ्यो भन्ठान्छौं तर हामी उसलाई न कहिल्यै केही वस्तु दिन्छौं न सम्मान गर्न नै । साँच्चै भन्नु पर्दा हामीले अरुको केही खाएका छौं भने ढिलो चाँडो उसलाई फिर्ता गर्न सक्नुपर्छ वा उसलाई पनि आफ्नो जे छ दिन जान्नु पर्छ । अरुले भनेको पनि नमान्ने र आफू पनि केही नजान्ने तर घमण्डले भरिएको मानिस हावाले भरिएको बेलुन जस्तै हो । निश्चित ठाउँमा पुगेपछि आफैं फुट्छ त्यसपछि त्यसको अस्तित्व भेट्न पनि सकिँदैन ।
हामीले अनुमानले केही काम शुरु गर्नु हुँदैन । त्यसो गर्नु भनेको अँध्यारोमा जँघार तर्नु जस्तै हो, धमिलो पानीमा माछा मार्नु जस्तै हो । आफूसँग जे पनि गर्ने आँट छ र सक्षम पनि छ भने त्यो मानिस जीवनमा कहिल्यै असफल हुँदैन । उसलाई जताततै सफलता प्राप्त हुन्छ । अवसरको सदूपयोग गर्न जान्यो भने मानिस एउटा गन्तव्यमा पुग्छ तर आएका अवसरहरु गुमाउँदै गयो भने फेरि फर्केर त्यो समय आउँदैन । कुनै पनि काम गर्न खोज्दा अघि आउने चुनौतीहरु पन्छाउन सक्ने आँट गरेर मात्र कामको थालनी गर्नुपर्छ नत्र न अघि बढ्न सकिन्छ न पछाडी फर्कन नै, जँघार तरेर बीचमा पुगेको यात्री जस्तो ।
मानिस अरुको प्रगति देखेर मुर्छा पर्छ, यहाँसम्म कि ऊ कसरी सफल मानिसका खुट्टा तान्ने भनेर सोचिरहन्छ तर आँट र हिम्मत गर्ने मानिस निरन्तर अघि बढ्छ र एउटा गन्तव्यमा पुगेरै छोड्छ । ऊ सफलताको शिखरमा पुगेर आउँदासम्म उसका कुरा काट्ने र खुट्टा तान्नेहरु त्यतिकै मात्रामा बढीरहेका हुन्छन् । कोही मानिस जब सफल बन्न चाहन्छ उसको जीवनमा मित्र भन्दा धेरै शत्रुहरु पनि हुनुपर्छ । शत्रुहरुसँग जोगिएर हिँड्ने मानिसले मित्रहरुसँग सजिलै जोगिन सिकिसकेको हुन्छ ।
मानिसले एकपटक कुनै काममा सफलता पाइएन भने त्यतिकै कहिल्यै छोड्नु हुँदैन । दोस्रो वा तेस्रो पटक अवस्य पनि सफलता पाइन्छ तर यो पनि सोच्नुपर्छ कि आफूसँग जतिपनि छ र भाग्य बलियो छ भन्दैमा डोकामा दूध दूहेर अडिँदैन । संसार आफ्नो गतिमा चलिरहेको छ, उसले पनि नियम पालना गरेको छ । मानिसले पनि नियममा बाँधिएर सत्मार्गमा लाग्ने हो भने जन्मिएर बाँचेको अर्थ रहन्छ । हामीले हजारौं वर्ष पहिले जन्मिएका गौत्तमबुद्ध, श्रीकृष्ण, श्रीरामलाई आज भगवान भनेर पूजा गर्छौं किनभने उनीहरुले आफू बाँचुञ्जेल अरुको अहित हुने काम गरेनन्, त्यसैले उनीहरु अहिलेसम्म अमर छन् र रहन्छन् वर्षौंसम्म पनि । त्यहि समयमा जन्मिएका कंश, रावणलगायतलाई पनि मानिसले सम्झिन्छन् तर उनीहरुले जीवनमा सधैं अरुलाई दुःखमात्र दिइरहे । यसबाट के बुझिन्छ भने मानिसले कि राम्रो काम गर्नेलाई सम्झन्छन् कि नराम्रो काम गर्नेलाई । तर ती सबैको इतिहास भने फरकफरक हुन्छन् । हामी पनि गौतम बुद्ध, श्रीकृष्ण वा श्रीराम बन्ने कि कंश, रावण बन्ने त्यो हाम्रै कर्मका कारण तय हुन्छ ।
हामीले काम गर्नुपर्छ तर तत्कालै केही कुराको आशा भने राख्नु हुँदैन । भगवान श्रीकृष्णले गीतामा भन्नुभएको त यादै छ नि, हामीले कर्म गर्नुपर्छ तर फलको आशा गर्नु हुँदैन अर्थात् निष्काम कर्म गर । यति भयो भने मानिसको जीवन सार्थक हुन्छ । अरुको रिस र डाहा गरेर कहिल्यै भलो हुँदैन । हामी यहि माटोमा जन्मिएका हौं, मर्ने पनि यहि माटोमै हो । मानिस जन्मिँदै उसले गर्ने काम र मर्ने मिति तय भइसकेको हुन्छ । मात्र यति हो कि हरेक कुराको समय आउनुपर्छ । समय कुर्न धैर्यता चाहिन्छ । तर अधिकांश मानिससँग धैर्यता नै हुँदैन ।

content advertise ment

Recommended For You

About the Author: Pradip Pradip

Leave a Reply

Your email address will not be published. Required fields are marked *