ज्ञानमणि नेपाल कालोटोपी
कसैले तपाईंको कुरा काट्छ भने काट्न दिनुस्, जो सँग जति क्षमता छ त्यति त देखाउने हो नि । न उसलाई तपाईंले केही सेवासुविधा दिनुभएको छ, न तलब नै । तैपनि उसले तपाईंको प्रचार गरिरहेको छ भने यो भन्दा खुशीको कुरा के होला र ? मैले भन्न खोजेको कुरा के हो भने कसैको पनि अनावश्यक कुरा किन काट्ने ? अरुले जे सुकै भनोस्, यसले केही फरक पार्दैन । यति हो की तपाईंले गलत गर्नु भएन । नकारात्मक सोचले प्रगति हुँदैन ।
सबै व्यक्तिमा सधैं एउटै सोच वा विचार हुन्छ भन्ने छैन नि । अँध्यारो रातको पनि महत्व छ, जति उज्यालो दिनको छ । सबैलाई उज्यालो दिने चन्द्रमामा पनि केही काला धब्बा हुन्छन् नि, यसो भनेर चन्द्रमा आफैंमा खराब छ र ? हुन त केही व्यक्तीले चन्द्रमालाई खराब पनि मानेका होलान् । यसले केही फरक पर्दैन ।
प्रकृतिमा जे जति वस्तुहरु छन् सबैले आआफ्नै नियम र परिधीभित्र रहनुपर्छ । एकछिन सोचौं त, आज एकदिन अल्छी लाग्यो भनेर पृथ्वीले घुम्न छोड्यो भने के होला ? हावा निरन्तर बहन्छ नि, उसले पनि अल्छी गरेर आज यो देशमा जान्न, वा भोलि यता मात्र बस्छु भन्यो भने के होला ? सूर्यले आफ्नो प्रकाश एउटा भागमा मात्र छर्छु भन्यो भने, त्यसपछिको अवस्था कल्पना गर्न सकिन्छ ? त्यसैले हामीले आफ्नो काम छोड्नु हुँदैन, अल्छी गर्नु हुँदैन । गीतामा श्रीकृष्णले अर्जुनलाई भनेका छन् नि, कर्म गर तर फलको आशा नगर भनेर । हो यस्तै हो, हामीलाई काम गर्ने अधिकार छ तर गलत काम गर्ने छुट छैन, अल्छी गर्ने छुट छैन । शरीरलाई आवश्यक आराम दिनुपर्छ तर धेरै आराम पनि दिनु हुँदैन ।
तपाईंले केही प्रगति गर्न लाग्नु भयो भने त्यतिबेला सबैभन्दा धेरै जलन तपाईंका सबैभन्दा नजिकका मान्छेलाई हुन्छ । दाजुले केही प्रगति गर्न थाल्यो भने भाइले कसरी दाजुलाई तल झार्ने भन्ने षडयन्त्र रच्न थाल्छ । दाजुमा पनि यहि नियम लागू हुन्छ । तर कसैले प्रगतिमा साथ दिन्छ भने त्यो असल मित्रले मात्र सम्भव छ । मान्छेको एउटा गुण हुन्छ, त्यो हो असन्तोष । आज एउटा कामका लागि समय र धन खर्च गर्छ, त्यो काम सकिएपछि पनि ऊ चुप लागेर बस्न सक्दैन । उसलाई अरु नै चाहाना थपिन्छन् । यसो गर्दा गर्दै एकदिन उसले संसार छोडेर जानु पर्ने दिन आइसकेको हुन्छ, तर उसले धन कमाउन छोड्दैन । धन जति कमाउँछ नि, उसले आफन्त, साथीभाइ सबैलाई विर्सन्छ । यो नै उसको दुःखको कारण हो तर उसले यो सोचेकै हुँदैन ।
हुन त संसार आज जुन अवस्थामा छ, त्यो मानवकै कारण हो । यहाँ मान्छेले प्रकृतिलाई नै चुनौती दिइरहेको छ । विकास गरिरहेको छ । जहाँ जे छैन, त्यहाँ त्यो वस्तुको श्रृजना गरिरहेको छ । कतिपय कामहरु देख्दा लाग्छ, के यी कामहरु पनि मानिसले नै गरेका हुन् त ? तर पत्याउन करै लाग्छ । विकासकै कारण मानिसले विनाशलाई पनि निम्त्याइरहेको छ । आज हामी वाढीपहिरो, आगलागी, भूकम्पलगायतले यति क्षति गर्यो भन्छौं, सोचौं त यस्ता प्राकृतिक विपत्ती त सधैं गइरहेका छन् । हामीले बनाएका कमजोर संरचनाले नै हामी यो अवस्थामा छौं भनेर हामीले कहिल्यै सोच्यौं ?
भोक लागेको बेलामा मान्छे उपदेश दिन थाल्छ, तर के उपदेशले पेट भरिन्छ र ? यसको मतलब हामी कुन काम कतिबेला गर्ने भन्ने नै हेक्का राख्दैनौं । खाना खानु पर्ने बेलामा खाजा खाइरहेका हुन्छौं । जहाँ जान उपयुक्त छैन, त्यहीँ गइरहेका हुन्छौं । जसको बारेमा वास्ता नगरे पनि हुन्छ, तर हामी उसकै बढी वास्ता गर्छौं । कसैले निःस्वार्थ केही काम गर्दैन यो दुनियाँमा, तैपनि ऊ भन्छ ‘मैले केही स्वार्थ राखेको थिएन, तिमीले यो कुरै बुझेनौ ।’ कपट गर्न मान्छेलाई कसैले सिकाउनै पर्दैन तर राम्रो काम जति सिकाए पनि सिक्दैन । चाहिने कुरा धेरै पटक भने पनि उसले सुन्दैन तर नचाहिने कुरा भने छिट्टै सुन्छ । यो मानवीय गुण हो हामीले यसलाई रोक्नै सक्दैनौं । क्रमशः…