आगलागीले टहरा जल्दा सहयोग गर्ने मध्यमार्ग मात्र भयो : कृषक दम्पती

ज्ञानमणि नेपाल कालोटोपी
पनौती । बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म नै तरकारी खेतीमा लागिरहेका पनौतीका किसान दम्पती कृष्ण श्रेष्ठ र इन्दु श्रेष्ठको दैनिकी जसोतसो चल्दै थियो । त्यतिकैमा उनीहरुको तरकारी खेती गरिरहेको टनेलामा आगलागी भयो । ७ लाखको क्षति भयो । त्यतिबेला उनीहरुलाई सहयोग गर्ने कोही भएन । पनौती नगरपालिकाले १५ हजार सहयोग गरेभन्दा बाहेक कसैले सहयोग गरेनन् । तर मध्यमार्ग कृषि सहकारीले उनीहरुको लागि १० वटा टनेल अनुदानमा उपलब्ध गरायो । सहकारीले १७ बोरा रासायनिक मल, स्प्रे पम्प र बीउ उपलब्ध गराएको उनीहरु बताउँछन् । पछिल्लो एक वर्षयता मध्यमार्ग आफ्नो लागि बरदान सावित भएको इन्दु श्रेष्ठ बताउँछिन् ।

स्वदेशमा बेरोजगारी भएर बैदेशिक रोजगारीमा जानु हिजोआज सामान्य जस्तै भएको छ । एकातिर यो बाध्यता भएको छ भने अर्कातिर धेरैजसो युवायुवतीहरु विदेश गएपछि त पैसा रुखबाटै टिपेर ल्याउन पाइन्छ भन्ने भ्रममा छन् । यसैबीच विदेशमा भनेजस्तो काम नपाएर हण्डर खाएपछि स्वदेश फर्किएर कृषिमा रमाउनेहरु पनि भेटिएका छन् ।

काभ्रेको पनौती नगरपालिका–८ खरिबोटका किसान कृष्ण श्रेष्ठ र इन्दु श्रेष्ठको दैनिकी हिजोआज आफ्नै कृषि व्यवसायमा बित्ने गरेको छ । कामको शिलशिलामा बैदेशिक रोजगारीमा गएर सोचेजस्तो कमाइ नभएपछि ४ वर्षअघि उनीहरु स्वदेश फर्किए र पनौतीमा ७ रोपनी जग्गा भाडामा लिएर तरकारी खेतीमा लागे । अहिले उनीहरु आफ्नै व्यवसायबाट सन्तुष्ट छन् । इन्दुले ९ वर्ष र कृष्णले ३ वर्ष गरि बिदेशमा २ जनाले कमाएको ५ लाख र थप ५ लाख साथीभाईसँग सापटी लिएर शुरु गरिएको उनीहरुको तरकारी खेतीबाट अहिले वार्षिक १० देखि १२ लाखसम्म कमाइ हुन्छ । यसबाट आफूहरु सन्तुष्ट भएको इन्दुको भनाइ छ ।

‘केही गर्छु भन्नेका लागि स्वदेशमै आम्दानीको अवसर रहेछ, हामी काम खोज्दै विदेश गयौं । धेरै दुःख पाइयो ।’– श्रेष्ठ दम्पती भन्छन् । गत वर्षसम्म उनीहरुले खेती थालेको ७ रोपनी जग्गाको वार्षिक १ लाख ३० हजार भाडा तिर्नु पर्थ्याे । उत्पादन त राम्रै हुन्छ तर कुनै वर्ष तरकारीले उचित मूल्य पाउँदैन । गत वर्ष जस्तो यस वर्ष गोलभेंडाको भाउ छैन तैपनि मिहेनत भने गरिरहेको श्रेष्ठ दम्पती बताउँछन् । यस वर्ष करिब ४५ वटा टनेल थपिएर १२० वटा टनेलमा तरकारी खेती गरिरहेका उनीहरुले अहिले भने १३ रोपनी जग्गाको भाडा मात्र वार्षिक ३ लाख बढी तिर्नुपर्छ ।

कामकै लागि धेरैतिर दौडिएको अनुभव छ इन्दुसँग । ०७९ सालमा ८ महिनाको बच्चा छोडेर उनी चुनावमा म्यादी प्रहरीमा समेत गइन् । सोचेजस्तो पढ्न नसकेकाले अहिले काम नपाउँदा उनलाई बेलामा पढ्न पाएको भए हुने रहेछ जस्तो लाग्छ, तैपनि आफ्नो काममा सन्तुष्ट छिन् । गर्छु भनेर आँट लिएर थाल्ने हो भने कुनै पनि काममा सफल हुन सकिने उनी बताउँछिन् । यतिबेला गोलभेंडा र करेलाले उनको कृषि व्यवसाय ढाकिएको छ । अहिले एउटा सानो गाडी किनेर आफैं चलाएर तरकारी बजार लैजान सक्छिन् इन्दु । यसका लागि गाडी चलाउन पहिले नै सिकेर चालक अनुमतिपत्र पनि बनाएको उनले बताइन् । सानो काखे बच्चालाई च्यापेर दिनभरि काममा खटिन सजिलो त छैन तर अरुको देशमा गएर काम गर्नुभन्दा आफ्नैमा जे सकेको गर्न र जे भएको खान पाइएकोमा उनी सन्तुष्ट छिन् । दैनिकरुपमा विदेशिएका हजारौं युवाहरुलाई सरकारले यस्ता कृषिकार्यमा लगाउनु पर्नेमा त्यसो हुन नसकेको इन्दुको गुनासो छ । अहिले राज्यले वर्षेनी अर्बौं रुपैयाँको खाद्यान्न आयात गर्छ, तर त्यसलाई रोक्न केही नयाँ कार्यक्रम ल्याएको छैन । कृषिप्रधान देशका किसानको हालत निकै दयनीय बन्नु दुःखद भएको उनको भनाइ छ ।

मौसम अनुसारका सबैखाले तरकारी लगाउने गरिएको उनीहरु बताउँछन् । काउली, बन्दा, बोडी, साग, करेला, गोलभेंडा, कांक्रा लगायतका तरकारी लगाउँदै आएका उनीहरुलाई अहिलेसम्म राज्यले कुनै सहयोग गरेको छैन । सरकारले दिने अनुदान नपाएपछि ऋण लिएरै काम गरिरहेको उनीहरुको भनाइ छ । यसका लागि वडा र नगरपालिकामा धाउँदा पनि पहुँच हुनेले मात्र सेवासुविधा पाएको र आफूहरुले नपाएको गुनासो गरे । सरकारले सहयोग गरे थप ४५ वटा टनेल थपेर अरु पनि तरकारी खेती गर्ने कृष्ण श्रेष्ठले बताए । सरकार पनि हुनेखानेका लागि मात्र रहेछ । नक्कली किसान र राजनीतिक पहुँच पुगेकाले किसानका लागि आएको अनुदान लिने तर वास्तविक किसानले भने केही सहयोग नपाउने अहिलेको प्रवृत्ती गलत भएको र यसो भएसम्म किसानले सधैं दुःख मात्र पाउने उनको दाबी छ ।

सरकारले मल, बीउ समयमा र पर्याप्त मात्रामा दिन नसक्दा पनि किसान पीडित भइरहेको बताउँदै कृष्णले यसमा सरकारकै कमजोरी रहेको आरोप लगाए । किसानले उत्पादन गरेका तरकारी राज्यले आफैं किनेर बजारमा पठाउने व्यवस्था हुने हो भने बिचौलिया व्यापारीको शिकार किसान बन्नु नपर्ने तर त्यसो हुन नसक्दा आज वास्तविक किसान थाप्लोमा हात राखेर बस्नु पर्ने अवस्था आएको उनको भनाइ छ ।

वरिपरि हरियो वातावरणसँगै फाँटै सेताम्य हुने गरि प्लाष्टिकका टनेलाले भरिएको श्रेष्ठ दम्पतीको कृषि फारम अहिले गोलभेंडाले भरिएको छ । तरकारी खेतीका लागि सिंचाइको पनि व्यवस्था आफैंले मिलाएको उनले बताए । गोलभेंडा खेतीबाट यस सिजनमा प्रतिकेजी २५ रुपैंयाँदेखि ११० रुपैयाँसम्ममा बेच्न पाएको उनीहरुले बताए । काम नपाएर विदेश हानिनेहरुका लागि श्रेष्ठ दम्पती उदाहरण बनेका छन् । अब सकुन्जेल यसरी नै तरकारी खेती गरिरहने कृष्ण र इन्दुको सोच छ । उनीहरु जस्ता परिश्रमी र पौरखी किसानहरुलाई सरकारले अब आवश्यक सहयोग गर्नै पर्ने जरुरी देखिन्छ ।

content advertise ment

Recommended For You

About the Author: Pradip Pradip

Leave a Reply

Your email address will not be published. Required fields are marked *