ज्ञानमणि नेपाल कालोटोपी
काठमाडौं । भनिन्छ, प्राकृतिक विपत्ती बाजा बजाएर आउँदैन । बाढीपहिरो, चट्याङ, आगलागी जस्ता घटना हरेक दिनजसो भइरहेका हुन्छन् । तर पनि यिनीहरुको न्यूनिकरणमा केन्द्रदेखि स्थानीय तहसम्मका सरकार चुकेका छन् । जसले गर्दा यस वर्ष आगलागी र डढेलोका घटनामा अत्याधिक बृद्धि भएको छ ।
बर्षेनी सुख्खायाम सुरु भएसँगै देशभर वन र बस्ती जलिरहने गरेका घटना नौलो होइन । तर यस वर्ष फागुनदेखि वैशाखसम्म विगतभन्दा वन डढेलो र आगलगीका घटना धेरै भएका छन् । आगोमा जलेर दिनहुँ दर्जनौं घर र सयौं हेक्टर वन क्षेत्र खरानी भइरहेको छ । तर सरकारले पूर्वतयारीमा भने खासै ध्यान दिएको छैन । यस्ता घटना हुनुमा नागरिकको लापरबाही पनि उस्तै छ । २०८० वैशाख १ देखि चैत ३० गतेसम्म आगलागीका चार हजार ६१ घटना भए । त्यसमा एक सय ६ जनाको मृत्यु भएको थियो भने पाँच सय ६ जना घाइते भए । कूल पाँच हजार एक सय ३० परिवार प्रभावित हुँदा दुई अर्ब ५२ करोडभन्दा बढीको क्षति भयो । यस वर्ष पनि वैशाख १ गतेदेखि २३ गतेसम्म भएका आगलागीका घटनामा १० जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । ४१० परिवार प्रभावित भएका छन् । यस अवधिमा आगोबाट ३ सय ८६ घर पूर्णरुपमा क्षति भएका छन् भने ८९ वटामा आंशिक क्षति भएको छ ।
२०६१÷६२ सालयता नेपालमा वन डढेलोबाट पनि ठूलो क्षति हुने गरेको पाइन्छ । डढेलोका कारण हरेक वर्ष औसतमा ७ जनाको मृत्यु र ७ जना घाइते हुने गरेका छन् । डढेलोबाट धेरै मानवीय क्षति २०६६ सालमा भएको थियो । सो वर्षको डढेलोबाट मात्रै ४९ जनाले ज्यान गुमाएका थिए । २०६६ वैशाखमा रामेछापमा मात्रै १३ जना सैनिकको ज्यान गएको थियो । सरकारले हरेक वर्ष चैतमा डढेलो व्यवस्थापनसम्बन्धी गतिविधि गर्दै आएको छ । तर पनि डढेलो र त्यसबाट हुने जन–धनको क्षति रोकिएको छैन । दुःखको कुरा त यो छ कि नेपालमा वार्षिक सरदर ३ हजार ९८ वटा डढेलोका घटना हुने र त्यसबाट १ लाख ७२ हजार ४० हेक्टर जंगल मासिने गरेको छ । नेपालमा लाग्ने डढेलो हरेक चार–पाँच वर्षको अन्तरालमा बढ्ने गरेको देखिन्छ । यस वर्षको डढेलो लाग्ने समय अझै बाँकी नै भएकाले धेरै जिल्लाबाट क्षतिको पूर्ण तथ्यांक आउन बाँकी छ । एकै दिन करिब ४०० वटा आगलागी र डढेलोका घटना हुँदासमेत सरकारको पूर्वतयारी भने देखिएको छैन ।