अर्जुन मैनालीबाट ब्लड बैंकलाई बिउ पूँजी

काभ्रे । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखा रक्त सञ्चार सेवा समितिले सवैभन्दा धेरै रक्तदान कार्यक्रम सञ्चालन गर्ने संस्थाहरुलाई सम्मान गरेको छ । शुक्रवार बनेपा रेडक्रस भवनमा आयोजित कार्यक्रममा धेरै पटक रक्तदान गर्ने रक्तदाता र रक्तदान कार्यक्रम सञ्चालन गर्ने संस्थाहरुलाई सम्मान गरेको हो ।
काभ्रे जिल्लामा जन्म भई हाल अमेरिका बसोबास गर्दै आउनुभएका रक्तदाता अर्जुन मैनालीले अमेरिकावाट नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको लागि पठाएको १ लाख ३० हजार रकम वरिष्ठ हाँस्य कलाकार हरिबंश आचार्यको हातबाट हस्तान्तरण गरिएको थियो ।
विश्व रक्तदाता मैनालीले २ सय ५ पटक रक्तदान गरी ६ वटा महादेशका २० भन्दा बढी देशहरुमा रक्तदान गर्नुभई रक्तदाताहरुलाई उत्प्रेरणा प्रदान गर्नुभएको छ । नेपालमा विभिन्न विधामा रक्तदाताहरुलाई उत्प्रेरणा जगाउनका लागि कार्य गर्दै आउनुभएका मैनालीलाई नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाले सम्मान पत्र प्रदान गरिएको थियो ।
हाँस्य कलाकार हरिवंश आचार्यले “हाम्रो शरीर नै पहिलो ब्लड बैंक भएकोले बेलाबेलामा रक्तदान गर्नु स्वास्थ्यको लागि फाइदाजनक रहेको बताउनुहुँदै हामीले प्रदान गरेको रगतले अरुको जीवन बच्ने हुँदा उत्साहित भएर स्वास्थ्य समस्या नभएका व्यक्तहरुले रक्तदान गर्नुपर्छ ।”
उक्त रकम र अन्य संकलित २ लाख रुपैयाँको अक्षयकोश स्थापना गरि आगामी वर्षहरुमा धेरै पटक रक्तदान गर्ने रक्तदाता र रक्तदान कार्यक्रम आयोजना गर्ने संस्थाहरुलाई सम्मान गर्ने तयारि गरिएको नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाका उपमन्त्री राजु सिग्देलले जानकारी दिनुभयो । सिग्देलका अनुसार काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका कोर्थुम्का सिपालीमा जन्मनुभई हाल अमेरिकामा बस्दै आउनुभएका अर्जुनप्रसाद मैनालीले नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाको रक्त सञ्चार सेवाद्वारा सञ्चालित रक्तदान कार्यक्रम पटक–पटक सञ्चालन गर्ने र आयोजित रक्तदानमा बढी रक्तदाता र संघसंस्थाहरुलाई प्रोत्साहन स्वरुप सम्मान गर्न बिउ पूँजीको रुपमा पहिलो पटक १ लाख ३० हजार रकम हाँस्य कलाकार हरिवंश आचार्य मार्फत् अमेरिकाबाट उक्त रकम पठाउनुभएको हो ।
सो रकम शुक्रबार एक समारोहका बिच अन्य सहयोगी महानुभावहरु रामप्रसाद घिनान्जुका पिता रामचन्द्र घिनान्जुको स्मृतिमा ११ हजार, सञ्जय कोंजू १० हजार, मञ्जुकुमार कोजू ५ हजार, सुवर्ण चोछें ५ हजार, जगदिश्वर खोंजू १० हजार, दयालक्ष्मी श्रेष्ठ ५ हजार, सुमनकाजी चोछें ३ हजार, कोमलसुन्दर टक्सारी ५ हजार, श्याम दर्शन गणेजु ५ हजार, सञ्जीवनी एसएलसी समूह २०४८ १० हजार, निरु अधिकारी ३ हजार र आनन्द कुमार वरुण ५ हजार १ सय रुपियाँ सोही कोषमा जम्मा गर्ने गरी हस्तान्तरण गरिएको थियो । त्यसैगरी हस्तान्तरण गर्ने संघसंस्था र महानुभावहरुलाई समेत हाँस्य कलाकार हरिवंश आचार्यबाट सम्मान पत्र प्रदान गरिएको थियो ।
अमेरिका बसोबास गर्दै आउनुभएका रक्तदाता अर्जुन मैनालीले ब्लो दान केन्द्रीय कार्यसमितिका कोषाध्यक्ष मचकाजी महर्जनमार्फत् रोशी गाउँपालिकालाई रक्तदान कार्यक्रम सञ्चालन गर्न पठाएको रकम गाउँपालिका अध्यक्ष दिनेश लामालाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ हाँस्य कलाकार हरिबंश आचार्यले रक्तदान जति गरे पनि नसकिने भएकाले सवैले रक्तदान गर्नुपर्ने र यस्ता कार्यक्रमहरुको प्रचार प्रसार पनि धेरै हुनुपर्ने बताए । रगतको अभाव हुन नदिनको लागि नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ ।
सो कार्यक्रममा मनिषा श्रेष्ठले स्मार्ट सेवाद्वारा आवश्यक रगत र रक्तदाताहरुको स्मार्ट हेल्थ एप्स मार्फत् सेवा सुचारु गरिएको जानकारी दिनुभएको थियो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका निर्देशक यज्ञप्रसाद अधिकारी, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, ब्लो दानका केन्द्रीय कोषाध्यक्ष मचकाजी महर्जन लगायतका मन्तव्य राखेको कार्यक्रमको सञ्चालन उपमन्त्री राजु सिग्देलले गर्नुभएको थियो ।
स्वागत मन्तव्य उपसभापति देवेन्द्र प्रसाद भैलले राख्नुभएको थियो भने कार्यक्रमको सभापतित्व जिल्ला सदस्य एवं रक्त सञ्चार सेवा समितिका संयोजक अनन्तकृष्ण श्रेष्ठले गर्नुभएको थियो ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *