
ज्ञानमणि नेपाल कालोटोपी
प्रतिनिधीसभा र प्रदेशसभाको चुनाव सकियो । नतिजा पनि आइसक्यो । यस चुनावमा धेरै रौनकता पनि देखियो भने नागरिकको चासो र उत्सुकता पनि उस्तै रह्यो । लामो समयको अन्तरालपछि भएको हुनाले नै हुनु पर्छ निर्वाचनले सोचेभन्दा धेरै चर्चा पनि पायो । निर्वाचन त सकियो तर यसको रहल पहल र चर्चा परिचर्चा केही हप्तासम्म रहने पक्का छ ।
चुनावमा उम्मेदवारी दिनेहरुको पनि भीड नै देखियो । एउटै दलभित्रै पनि धेरै आकांक्षी रहेकाले उम्मेदवारी छनौटमा दलहरु निकै समयसम्म अलमल नै गरिरहे । जसले टिकट पाएनन्, उनीहरु मध्ये केहीले आफ्नै पार्टीविरुद्ध बागी उम्मेदवारी पनि दिए भने कतिपयले अन्तरघाती रोल पनि निभाए । कतै कतै त पानी बाराबारको अवस्थासम्म रहेका केही प्रमुख दलहरुमा चुनावी तालमेल रहेको विषयले पनि निकै प्रमुखता पायो ।
यसरी तालमेल गरिएका मध्ये अधिकांश ठाउँमा एमाले, राप्रपा, जसपा तथा कांग्रेस, माओवादी, एकीकृत समाजवादीका गठबन्धनहरु थिए । दलका प्रमुख नेताहरुबीच भित्री तालमेल भएपनि यसबाट कार्यकर्ताहरु भने निकै नै असन्तुष्ट रहेका पाइयो । उनीहरुले आफ्नो पुरानै चुनाव चिन्हमा मत दिएकोबाट यो कुरा प्रमाणित हुन्छ ।
यसरी हेर्दा दलहरु क्षणिकरुपमा मिलेका देखिएपनि वास्तवमा न उनीहरु मिलेका छन् न त उनीहरुका विचारहरु नै मिल्छन् । देखावटी तालमेल कति दिनसम्म टिक्नु, यस्ता प्रतिक्रिया दिने कार्यकर्ताहरु पनि प्रशस्तै भेटिएका छन् । पार्टीका कार्यकर्ताहरुले खुलेरै असन्तुष्टि पनि पोखेका छन् ।
हुन त केन्द्रमा भएको तालमेलले तल्लो तहसम्म जानकारी दिलाउन नसक्दा पनि कतिपय कार्यकर्ताहरु झुक्किएका थिए । सरसर्ती हेर्दा नेताहरु मिले पनि कार्यकर्ताहरु नमिलेका कारण कतिपय ठाउँमा अन्तरघात भएको छ । यसको ज्वलन्त उदाहरणको रुपमा काभ्रेको क्षेत्र नं. २ लाई लिन सकिन्छ । यहाँका २ वटा प्रदेशसभामा सत्तागठबन्धनले जित्दा केन्द्रमा भने फराकिलो मतान्तरले हारेको छ । प्रदेश सभाका २ उम्मेदवारले पाएको मत र केन्द्रका गठबन्धनकै उम्मेदवारले पाएको मतमा करिब ६ हजारको फरक पाइयो । जबकी यहाँ गठबन्धनले ५ हजार ७ सय मतले नै हार बेहोरेको छ । प्रदेशमा मत दिए पनि गठबन्धनबाटै केन्द्रमा मत नदिएपछि नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंले एमाले उम्मेदवार गोकुल बास्कोटासँग पराजित हुनुपर्यो । केही असन्तुष्ट कार्यकर्ताले गरेको अन्तरघातले अर्को दललाई फाइदा पुगेको यहाँबाट प्रमाणित हुन्छ । यस्ता उदाहरणहरु थुप्रै छन् ।
वास्तवमा तालमेल नराम्रो होइन । अझ सधैंका लागि फुटेर होइन, जुटेर देश र समाजको विकासका लागि समय दिन सके झन् राम्रो । तर नेपालमा त्यस्तो राजनितीक संस्कारको विकास अहिलेसम्म हुन सकेको छैन । सिमीत स्वार्थका लागि आफ्नै दलसँग बदला लिने गरि शुरु भएका फुट र गुटको संस्कारमा तालमेलको बनावटी नाटक बुझि नसक्नुकै थियो ।
विकासका लागि नभएर पद जोगाउनकै लागि तालमेल गरिएको अनुमान जो कसैले पनि लगाइरहेकै थिए । विगतमा नेतृत्व नपाएपछि पार्टी फुटाएर आफू अध्यक्ष, सभापति भएका तिनै दलका नेताहरु यस चुनावमा तालमेलको रणनितीमा लागेको सुन्ने बित्तीकै यो सफल होला वा नहोला भनेर शंका उब्जिएको थियो । नभन्दै उनीहरुले चुनावकै लागि मात्र गरेको तालमेलले खासै उपलब्धि हासिल गर्न नसकेको प्रमाणित नै भयो । अहिले तालमेल गरेपनि कालान्तरमा यी दलहरु पुरानै अवस्थामा फर्कने पनि निश्चित नै थियो । बरु यस्ता तालमेलबाट असन्तुष्ट कार्यकर्ताहरुले अन्तरघाती रोल निभाएपछि भने अब नेतृत्वकर्तालाई यस्तो विषयमा सोच्न बाध्य पारेको छ ।
एकातिर यस्तो अवस्था रहयो भने अर्कातिर भर्खर देखा परेका केही नयाँ शक्तिहरुका कारण पनि ठूला भनिएका दलहरुलाई धेरै नै प्रभाव पा¥यो । विशेषगरि राष्ट्रिय स्वतन्त्र पार्टीले शुरुवाती चरणमै राम्रो उपस्थिती जनाएपछि नागरिकहरु अब पुराना दलहरुसँग रुष्ट हुँदै वैकल्पिक शक्तितिर आकर्षित हुन लागेका भने प्रष्टै देखियो । त्यति लामो मतपत्र, लाइनै पुराना चुनाव चिन्हहरुको भिडमा एउटा मात्र चिन्ह रोजेर मतदाताहरुले भोट दिएका नयाँ शक्तिले विशेषगरि राजधानीका ठाउँहरुमा राम्रै प्रभाव जमाए । यदि यी शक्तिहरुको उपस्थिती नदेखिएको थियो भने ती मतदाताहरुले बाध्यतावस आफ्नै पुराना चुनाव चिन्हहरुमा छाप लगाउनु पर्ने अबस्था छँदै थियो ।
हुन त दलहरुका विगतका हरेक क्रियाकलापहरुसँग पुरै असन्तुष्टि जनाएका नागरिकहरुसँग अहिले भएको चुनावबाट चुनिएका प्रतिनिधीहरुले पनि खासै केही गर्न सक्लान् भन्ने आशा भने छैन । तर नयाँ संरचना अनुशार चुनाव भएको र केन्द्रका अधिकारहरु गाउँमा जाने भएपछि केही आशा राख्नेहरु पनि छन् । नागरिकको विश्वास जित्न चुनिएका प्रतिनिधीहरुले अब राम्रै कसरत गरेनन् भने नागरिकका आशा निराशामा बदलिन पनि सक्छन् । विगतका जस्तो चुनावभन्दा केही फरकखालको यस चुनावले जनतालाई अधिकार सम्पन्न बनाउने कुरा संविधानमा उल्लेख गरिएको छ ।
यी विविध घटनाक्रमहरुबाट के बुझ्नु पर्छ भने तालमेल र अन्तरघातबाट चुनावी मैदानमा जानुभन्दा आफ्नै संगठनलाई बलियो बनाएर तयारी पुरा गरेपछि प्रतिस्पर्धा गर्नु बुद्धिमानी ठहर्छ । निर्वाचनसँग सम्बन्धित विषयहरु तालमेल, अन्तरघात, मतदाता शिक्षा, आचारसंहिता, चुनावी खर्च र प्रचारप्रसार लगायतका विषयहरुमा दलहरुले अब पाठ सिकेर सो अनुशारको तयारी गर्नु आवश्यक देखिन्छ ।