काभ्रे । जिल्ला समन्वय समिति काभ्रेलाई जिल्लास्थित सरोकारवाला निकायले नदीजन्य तथा खानीजन्य उद्योग सञ्चालनसम्बन्धी अद्यावधिक विवरण हालसम्म बुझाएका छैनन् । समितिले दुई महिनाअघि ती उद्योगबारे स्थानीय तह, घरेलु तथा साना उद्योग, आन्तरिक राजस्व, जिल्ला प्रहरी र डिभिजन वन कार्यालयसँग अद्यावधिक विवरण माग गरेको समन्वय समितिका प्रमुख दिपक प्रसाद गौतमले जानकारी दिनुभयो ।
निर्माण कार्यमा प्रयोग हुने ढुङ्गा, गिट्टी, बालुवालगायत साधारण निर्माणमुखी नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन, सङ्कलन, भण्डारण, बिक्री–वितरण, आपूर्ति तथा मूल्य निर्धारणलगायतका प्रक्रियाबारे जिल्लामा भइरहेको गतिविधिका विषयमा सम्बन्धित निकायसँग अद्यावधिक विवरण माग गरेकोमा अद्यावधिक विवरण कुनै पनि निकायद्वारा प्राप्त नभएको जिसस प्रमुख गौतमले बताउनुभयो । यसअघि भएको जिल्लास्तरीय अनुगमनको प्रतिवेदनबारे समीक्षा गरेर अद्यावधिक विवरण माग गरेका थियौँ, प्राप्त भएन, अब आउने हप्ता आफैँ अनुगमन निरीक्षण गर्ने प्रमुख गौतमले बताउनुभयो । समितिले उद्योगसम्बन्धी तोकिएको मापदण्ड, शर्त र सीमा पालना गरे नगरेको निस्क्र्यौल गरी सोही अनुसार कारवाही प्रक्रिया अगाडि बढाइने बताइन्छ ।
काभ्रेको १३ स्थानीय तहमा ३१ क्रसर उद्योग तथा करिब तीन दर्जन ढुङ्गाखानी सञ्चालनमा रहेको पाइन्छ । जिल्लामा यसअघि जिससको समन्वयमा गर्दै आइएको अनुगमनले अवैधानिक रुपमा रोडा–ढुङ्गा खानी सञ्चालन गर्दै आएको देखाउँदै आएको थियो । जिससको अनुगमन प्रतिवेदनमा समेत सबै क्रसर मापदण्डविपरीत रहेको तथा सम्झौता बेगर नदीबाट बालुवा उत्खनन गरिएकोसमेत उल्लेख गर्दै आएको थियो ।
जिल्लामा रहेका सबै क्रसर सरकार मन्त्रीपरिषद्को निर्णय एवं प्रदेश सरकारबाट जारी नदीजन्य पदार्थ (सङ्कलन र उपयोग) सम्बन्धमा व्यबस्था गर्न बनेको कार्यविधिको दफा–३ बमोजिम कायम मापदण्डअनुसार चलेका छैनन् । यस्तै जिल्लाका अधिकांश क्रसर नदीसँगै, नदी र राजमार्गको बीचमा, विद्यालय र जङ्गल नजिक सञ्चालित भएको, अन्य केहीद्वारा वासिङको स्वीकृत लिएर क्रसर चलाएका छन् । सरकारले विद्यमान ढुङ्गा, गिट्टी वालुवा उत्खनन्, विक्री तथा व्यवस्थापन मापदण्डलाई परिमार्जन गरी नयाँ मापदण्ड जारी गरेको छ । नयाँ मापदण्डअनुसार अब क्रसर उद्योग सञ्चालन गर्दा धार्मिक, पुरातात्विक र शिक्षण संस्थाबाट दुई किलोमिटरको दूरीमा कायम गर्नुपर्नेछ । साथै वन, निकुञ्ज र आरक्षण क्षेत्र, घनाबस्ती, अन्तर्राष्ट्रिय सीमाबाट दुई किलोमिटरको दूरीमा मात्रै क्रसर उद्योग सञ्चालन गर्न पाइनेछ । यस्तै, ढङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी नयाँ मापदण्डमा चुरे पहाडका फेदीबाट एक हजार पाँच मिटरको दूरीमा क्रसर उद्योग सञ्चालन गर्नुपर्ने तथा खोला, नदी किनाराबाट, पक्की पुल र राजमार्गको ‘राइट अफ वे’ बाट पाँच सय मिटरको दूरीमा मात्रै उद्योग सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ ।